• २१ माघ २०८२, बुधबार

सधैँको चुनावी एजेन्डा, अझै पनि बन्न सकेन सडक

blog

फाइल तस्बिर

बोमलाल गिरी

नवलपुर, माघ २१ गते । आठ किलोमिटर बाटो नछिचोलिँदा नवलपुरको विनयीत्रिवेणी गाउँपालिकाका बासिन्दा आफ्नै पालिका, जिल्ला सदरमुकाम जानका लागि अर्कै जिल्ला र अर्कै प्रदेश भएर जानुपर्ने बाध्यता छ । हुलाकी राजमार्ग अन्तर्गत त्रिवेणी–दुम्किबास सडकको आठ किमी सडक बन्ने हो भने ६० किमीको सडक यात्रा २० किमीमा छोटिन्थ्यो तर लामो समयसम्म यो सडक बन्न सकेको छैन । 

हरेक चुनावमा राजनीतिक दल उम्मेदवारले आफ्नो मुख्य एजेन्डा बनाउने गरेका छन् । जिल्लास्तरका घोषणापत्रमा सधैँ समेटिने गरेको छ तर सडक हालसम्म पनि पूरा हुन सकेको छैन । यद्यपि प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै फेरि यो सडकको चर्चामा चुलिएको छ । त्रिवेणीका मतदाता लेखराज चालिसेले भन्नुभयो, “हरेक पटकको चुनावमा त्रिवेणी–दुम्कीबासको सडक खोल्न पहल गर्छु भन्दै भोट माग्नेका कमी छैन तर चुनाव जितेपछि फर्केर आउने कसैले पनि गरेको छैन । जितेका व्यक्तिले संसद्मा यो सडकको आवाज कहिल्यै सुनिएन ।” उहाँले भन्नुभयो, “सबै दलका उम्मेदवारको आश्वासन सुन्दा सुन्दा आफैँलाई गाह्रो भइरहेको छ ।”

२०६२ सालदेखि सुरु गरिएको यो सडकखण्ड २०६३ सालमा ट्र्याक पूरा भएको थियो । २० किलोमिटरको उक्त सडकखण्डमा २०६३ सालको फागुनमा झन्डै एक हप्तासम्म सामान्य सवारीसाधन पनि चलेका थिए । थप निर्माणको काम अघि नबढेपछि सवारीसाधन पनि चल्न छाडेका छन् । एक पटक ट्र्याक खोलिसकेको बाटो फेरि बन्द भएपछि यहाँका दुई वटा वडाका बासिन्दा लुम्बिनी प्रदेशको नवलपरासी हुँदै दाउन्नेको अवरोध छिचोल्दै घन्टौँ लगाएर पालिका र जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता छ । 

सङ्घीयतापछि धेरै काम वडा कार्यालयबाटै हुने भए पनि नाता प्रमाणित, विवाहदर्ता प्रमाणित, राजस्व, वैदेशिक रोजगारीसँग सम्बन्धित कामका लागि पालिकामै आउनुपर्ने विनयीत्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डितले बताउनुभयो । त्यसै गरी स्वास्थ्योपचारका लागि र ठुलो रोग लागेर अन्य अस्पतालमा जान परेमा रेफर लिनका लागि प्रादेशिक अस्पताल कावासोती–१६, डन्डा पुग्नु पर्छ । सहकारी, मालपोत, नापीलगायत प्रशासनिक कामका लागि पनि जिल्ला सदरमुकाम कावासोती आउनुको विकल्प छैन । 

विनयीत्रिवेणी–६ का बासिन्दा नारायणप्रसाद उपाध्यायले यो बाटो नहुँदा निकै समस्या झेल्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पहिले त हामीलाई भुलाएर मत माग्नेलाई मत दियौँ । यस पटक साँच्चिकै बाटो खोलिदिनेलाई मत दिने विचार गरेका छौँ ।” उहाँले भन्नुभयो, “अत्याश्यक काम परेर आफ्नै पालिका जानु पर्दा उस्तै परे दिनभरि दाउन्नेको सडक जाम परेर एक दिनमा पनि जान सकिन्न, कम्तीमा यो आठ किलोमिटर बाटो खोलिदिए त कति राहत हुन्थ्यो ? उपाध्यायले भन्नुभयो, “चुनावका बेला मात्र प्रतिबद्धता जनाउने र अरूबेला सबै बिर्सने नेताको परम्परागत रोग भइसकेको छ । यस पटक त्यस्तो नहोस् भन्ने हाम्रो चाहना हो ।”

यो बाटो २०६३ सालमा गजेन्द्रमोक्षधामका पीठाधीश कमलनयन आचार्यको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहित तत्कालीन १४ गाविसका जनता मिलेर ट्र्याक खोली निर्माण सुरु भएको थियो । हालसम्म पनि बाटोले गति नलिएपछि स्थानीय दिक्क भएका छन् । विनयीत्रिवेणी–७ का स्थानीय सुमनराज पराजुलीले आफ्नै पालिकामा जान पनि अर्कै जिल्ला, अर्कै प्रदेश भएर जानुपर्ने नमिठो बाध्यता रहेको सुनाउनुभयो । पालिकाको पहलमा दुम्कीबासदेखि बगुवनसम्मको आठ किलोमिटरसम्म गाडी गुड्ने बाटो बनेको छ । बगुवनबाट त्रिवेणीको गजेन्द्रमोक्षधाम जाने आठ किलोमिटर बाटो बन्न सकेको छैन । गजेन्द्रमोक्षधामबाट चार किलोमिटरको दुरीमा भारतीय सीमा भैँसालोटन छ । जुन कुनै समय निकै व्यस्त रहने भन्सार नाका थियो तर अहिले यही बाटो बन्न नसक्दा  भन्सार नाका पनि सुनसान जस्तै देखिन्छ । 

यो नाका खुलाउन सकेमा गण्डकी प्रदेशका लागि मात्र नभए समग्र मुलुककै लागि प्रभावकारी हुने र लाभ दिन सकिने त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्र भुसाल बताउनुहुन्छ । यो नाकाले दक्षिणमा त्रिवेणीबाट भारत र मुस्ताङको कोरलाबाट चीनसँग जोड्छ । त्यसैले यो त्रिदेशीय नाका भएकाले गण्डकी प्रदेश सरकारले यसलाई गौरवको आयोजनामा राखेको छ तर प्रदेशले जुन सव्रिmयता देखाउनुपर्ने हो, त्यो नदेखाएको त्रिवेणी–६ का वडाध्यक्ष नुरेन्द्र शाह बताउनुहुन्छ ।

प्रदेशका हरेक मुख्यमन्त्री, सङ्घीय सरकारका मन्त्रीहरू र सांसदको सधैँभरिको चुनावी एजेन्डा मात्र बन्ने गरे पनि बाटो खोल्न पहल नगरेको अध्यक्ष शाहको दुःखेसो छ । अहिलेसम्म यही बाटोकै एजेन्डा लिएर डा. यादवप्रसाद पन्त, मझिलाल थारू थनेत, चन्द्रमणि खराल, तिलक महत र विष्णु कार्कीले चुनाव जितिसक्दा पनि वाचा पूरा गर्न नसकेको उहाँले आरोप लगाउनुभयो ।

अब यहाँका मतदाता अहिलेका उम्मेदवार र राजनीतिक अवस्थाबारेमा सचेत रहेको भन्दै फेरि पनि बाटोको आश्वासन लिएर मत माग्न आए व्यापक छलफल गरेर विश्वासिलो आधार खोजिने शाहले बताउनुभयो । त्रिवेणीको आठ किलोमिटरमध्ये केही भाग चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्रिवेणी–दुम्कीबास सडकखण्ड बन्न सकेको छैन । विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन मन्त्रालयको स्वीकृति अनुसार परामर्शदाता छनोट गरी पठाएको र मन्त्रालयले लामो समयसम्म सन्दर्भ सर्त पास नगर्दा काम अघि बढ्न नसकेको बताउनुभयो ।