• २१ माघ २०८२, बुधबार

बरघरलाई फकाउँदै उम्मेदवार

blog

महटाँवासँंग छलफल गर्दै उम्मेदवार । तस्बिर : सन्तोष दहित

दाङ समाचारदाता

दाङ, माघ २१ गते । निर्वाचन नजिकिँदै जाँदा गाउँ गाउँमा उम्मेदवारको चहलपहल बढ्दै गएको छ । विशेष गरी थारू समुदायको बाहुल्य भएका ग्रामीण क्षेत्रमा उम्मेदवारको ध्यान परम्परागत नेतृत्व मानिने महटाँवा, बरघरतर्फ केन्द्रित देखिन्छ । थारू समुदायमा महटाँवा, बरघर र भलमनसालाई सामाजिक, सांस्कृतिक तथा परम्परागत नेतृत्वका रूपमा मानिने गरिन्छ । जसको निर्णय र सुझावले गाउँको सामूहिक मत प्रभावित गर्ने गर्छ ।

२०७८ को जनगणना अनुसार लुम्बिनी प्रदेशका छ जिल्लामा बसोबास गर्दै आएका थारू समुदायको सात लाख ३२ हजार ६९ जनसङ्ख्या छ । यो कुल जनसङ्ख्याको १४.२९ प्रतिशत हो । दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा थारू समुदायको बाहुल्य छ । यीमध्ये दाङ, बाँके र बर्दियामा अझै थारू समुदायको बाक्लो बसोबास छ । जहाँ हरेक गाउँमा महटाँवा, बरघर, भलमनसाले नेतृत्व गर्दछन् । 

यही आकलन गरेर दलका उम्मेदवार थारू गाउँ गाउँ पुगेर महटाँवा तथा बरघरसँग भेटघाट तथा छलफल गरिरहेका छन् । महटाँवा, बरघर भलमनसा महासङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले थारू समुदायको प्रथाजनित महटाँवा प्रथालाई कानुनी मान्यता दिलाउने प्रतिबद्धता जनाउँदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेको बताउनुभयो । उहाँका अनुसार दाङमा ४५० गाउँमा महटाँवा, बरघर रहेका छन् । यद्यपि स्थानीय तहले भने महटाँवा, बरघर प्रथालाई कानुनी मान्यता दिइरहेको उहाँले बताउनुभयो । 

थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार दाङ, बाँके, बर्दिया र कैलालीका १५ पालिकाले महटाँवा, बरघरलाई कानुनी मान्यता दिएका छन् । यस्तै लुम्बिनी प्रदेश सरकारले समेत महटाँवा प्रथालाई कानुनी मान्यता दिने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मसौदा बनाएर प्रदेश सरकारलाई बुझाइसकेका छौँ । छलफलपछि प्रदेश सभामा पेस हुने छ ।” 

यसैबिच महटाँवालाई भेट्दै दाङ क्षेत्र नं. २ का उम्मेदवार एवं नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले महटाँवा प्रथाले गाउँस्तरमा सामाजिक न्याय, मेलमिलाप र विवाद समाधानमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । सोही क्षेत्रका उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले पनि आफू जितेर गए यस विषयलाई गम्भीरताका साथ उठाउने बताउनुभयो । महटाँवासंग छलफल गर्दै उहाँले महटाँवा, बरघरलाई अधिकारसम्पन्न बनाउने बताउनुभयो ।  

थारू गाउँमा प्रायः महटाँवा, बरघर र भलमनसाको अगुवाइमा सामूहिक निर्णय हुने भएकाले महटाँवालाई आफ्नो पक्षमा ल्याउन सके गाउँको अधिकांश मत आफ्नो पक्षमा पार्न सकिने विश्वास उम्मेदवारको छ । थारू अगुवा एवं शिक्षक घोराही–१७ ढिकपुर निवासी जगवीर चौधरीले थारू समुदायको सङ्गठित सामाजिक संरचनाले निर्वाचन परिणाममा प्रत्यक्ष प्रभाव पार्न सक्ने बताउनुभयो ।