• २० माघ २०८२, मङ्गलबार

‘भाषा राष्ट्रको सम्पत्ति’

blog

प्रधानमन्त्री सुशीला कार्की भाषा आयोगको मातृभाषा शिक्षासम्बन्धी सिफारिस प्रतिवेदन तथा अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२) सम्बन्धी नेपालको राष्ट्रिय कार्ययोजना सोमबार ग्रहण गरेपछि सामूहिक तस्बिरमा । तस्बिर : रासस

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २० गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषा हाम्रा सम्पत्ति भएकाले मर्न दिन नहुने बताउनुभएको छ । उहाँले मातृभाषामा शिक्षा पाउने संवैधानिक हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुई फरक फरक विषयका अध्ययन प्रतिवेदन सोमबार ग्रहण गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले भाषा आयोगको ‘मातृभाषा शिक्षासम्बन्धी सिफारिस प्रतिवेदन’ तथा ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२)’ सम्बन्धी नेपालको राष्ट्रिय कार्ययोजना’ ग्रहण गर्नुभएको थियो । उहाँले प्रतिवेदन ग्रहण गरी तत्काल कार्यान्वयन प्रक्रिया अगाडि बढाउन सो समारोहमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई हस्तान्तरण गर्नुभयो ।

आफ्नो सरकारको कार्यकाल छोटो भए पनि मातृभाषा शिक्षासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि ठोस आधार तयार गर्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “वर्तमान सरकारले यो व्यवस्थालाई कार्यान्वयनमा लैजान सक्दो प्रयास गर्ने छ, जसले गर्दा आगामी सरकारका लागि यस मार्गमा बढ्न सहज हुने छ ।’’ उहाँले अगाडि भन्नुभयो, “हाम्रो देशमा १२४ वटा भाषा छन् । यी सबै हाम्रा सम्पत्ति हुन् । तर यीमध्ये कतिपय लोप हुन लागेका छन् । तर कुनै पनि भाषा मर्न दिनुहुँदैन । प्रत्येक भाषा उत्तिकै महत्वपूर्ण छन् ।” 

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले विशेष गरी लोपोन्मुख भाषा संरक्षणका लागि यो प्रतिवेदन तथा कार्ययोजना तयार गरिएको बताउँदै यसको कार्यान्वयनका लागि सरकारसँग आग्रह गर्नुभयो । मातृभाषामा शिक्षा पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उहाँको भनाइ थियो । 

आदेशपालक मात्र होइन समाधानकर्ता बन्न आग्रह 

प्रधानमन्त्री सुशीला कार्कीले प्रहरीको भूमिका केवल आदेश पालनामा मात्रै सीमित नरही समाधानकर्ताका रूपमा विकसित हुनुपर्नेमा बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सोमबार आयोजित १८३ औँ ‘पोस्ट ग्य्राजुएट डिप्लोमा इन पुलिस साइन्स’ १४ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले राजनीतिक प्रभाव, पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्म अनुसार सबै प्रहरी कर्मचारीले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले परम्परागत अपराधसहित साइबर अपराध, सङ्गठित अपराध, वित्तीय अपराध, बहुउद्देशीय अपराध र सामाजिक द्वन्द्वका नयाँ आयाम देखापरिरहेको उल्लेख गर्नुहुँदै प्रहरी मुलुकको कानुन कार्यान्वयन गर्ने एक प्रमुख संस्था रहेको बताउनुभयो । 

उहाँले कठिन परिस्थितिमा पनि संवेग, विवेक र न्यायको मार्ग पहिल्याउन सक्ने नै सक्षम प्रहरी हुने बताउँदै सही निर्णय गर्दा हुन सक्ने आलोचना र धम्कीबाट नडराई कर्तव्यपथमा अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो ।

मुलुकको कानुन कार्यान्वयन गर्ने एक प्रमुख संस्था प्रहरी रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “एक जिम्मेवार प्रहरी अधिकृतको हैसियतले तपाईंहरू आज राज्य र नागरिकबिचको पहिलो सम्पर्कबिन्दु बन्नुभएको छ । नागरिकले आफ्नो सरकार तपार्इंको व्यवहार र आचरणमा देख्नेछन् । तपाईंको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने छन् ।”

उहाँले कठिन परिश्रम, अनुशासन र समर्पण भावसाथ प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीलाई बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

उहाँले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको र यस दायित्वमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने उल्लेख गर्नुभयो । समारोहमा प्रधानमन्त्री कार्कीले तालिममा सर्वप्रथम एवं शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धिमा प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेतलाई स्वर्गीय ‘कुलानन्द विद्या सर्वप्रथम पुरस्कार’ प्रदान गर्नुभयो ।

सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रको आन्तरिक सुरक्षा जस्तो गहन जिम्मेवारी वहन गरेको नेपाल प्रहरीको काँधमा कानुन कार्यान्वयन, अपराध नियन्त्रण र अनुसन्धान, मानव अधिकारको संरक्षण, विपत् व्यवस्थापन जस्ता संवेदनशील दायित्व रहेको बताउनुभयो । 

प्रहरी निरीक्षकबाट दीक्षित प्रहरी अधिकृत केवल निलो बर्दीधारी मात्र नभई राज्यको प्रतिनिधि, कानुनको संरक्षक र जनविश्वासवाहक रहेको बताउँदै गृहमन्त्री अर्यालले भन्नुभयो, “अपराधस्वरूप जटिल बन्दै चुनौती बढिरहेका छन् । अब पुरानो सोच र पुराना विधिबाट नयाँ समस्या समाधान नहुने हुँदा कानुनको गहिरो ज्ञानसँगै विवेक, संयमता, नैतिकता र व्यावसायिक निर्णय क्षमताको पनि आवश्यकता छ ।” उहाँले आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय तवरबाट सम्पन्न गराउन नेपाल प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ज्ञान, सिप र क्षमता विकासका लागि प्रशिक्षणका विभिन्न उतारचढाव, कठिनाइ र चुनौती पार गर्दै झन्डै १९ महिना तालिम पूरा गरी दीक्षित हुनुभएका प्रहरी निरीक्षकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।