गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २० गते । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका घटनामा थप पाँच उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनमा आयोगले यसबिचमा ३० वटा स्पष्टीकरण सोधेको छ । राजनीतिक दल, उम्मेदवार र संस्थालाई सोधिएको उक्त स्पष्टीकरणमा १३ जवाफ आयोगले प्राप्त गरेको छ ।
आयोगका अनुसार माघ १८ गतेयता थप पाँच उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार माधव सापकोटा, रास्वपाकै रुद्र गिरी, नेकपाका मङ्गल प्रजा र जनता समाजवादी पार्टी नेपालका अशोक टमानीलाई आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई समेत स्पष्टीकरण सोधेको छ । तीन दिनभित्र जवाफ पेस गर्न सम्बन्धितलाई आयोगले पत्रमा भनेको छ । यस्तै काठमाडौँ महानगरपालिकाले सुरुवात गरेको ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको कार्यक्रममा पनि आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले उक्त कार्यक्रम नयाँ हो वा यसअघि घोषित हो भन्ने स्पष्टीकरण सोधेको हो । आयोगले झापा–५ मा रास्वपाको पक्षमा सादा पोसाकका प्रहरीले मत मागेको भन्ने उजुरीमा जाँचबुझका लागि आचारसंहिता अनुगमन अधिकृतलाई आग्रह गरेको छ ।
पोलिङ साइट बन्द
निर्वाचनको स्वच्छतामा प्रश्न उठाउने गरी मतपरिणाम गरेको भन्दै निर्वाचन आयोगको पत्राचारमा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच वटा पोलिङ साइट बन्द गरेको छ । नेपालभित्र नखुल्ने गरी साइट बन्द गरिएको हो । रेटमाइ नेता, नेपालपोल, एक्जिट पोल नेपाललगायतका पोलिङ साइट बन्द भएका हुन् ।
यस्तै पोलिङ साइट चलाइरहेको कान्तिपुर मिडिया ग्रुपले पनि निर्वाचन आयोग र प्रेस काउन्सिलको ध्यानाकर्षणपछि रेट डटकम इकान्तिपुर डटकम आफैँले बन्द गरेको छ । आयोगले उक्त विषयमा सोधपुछका लागि प्रेस काउन्सिललाई पत्राचार गरेको थियो ।