गोरखापत्र समाचारदाता
ललितपुर, माघ १९ गते । ईस्थर बेन्जामिन स्मृति संस्थाले दुई दशकको अवधिमा जोखिममा रहेका करिब एक हजार जना बालबालिकाको उद्धार गरी शिक्षा र सिपसहित व्यवस्थापन गरेको छ । सो संस्थाद्वारा राजधानीमा आयोजित “सामाजिक लेखा परीक्षण कार्यक्रम”मा ईस्थर बेन्जामिन स्मृति संस्थाले गरेका कामबारे विवरण प्रस्तुत गर्दै सो कुराको जानकारी दिएको हो ।
राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले सो संस्थाले ललितपुर र मकवानपुर जिल्लालाई कार्य क्षेत्र तोकेर जोखिममा परेका बालबालिकाका लागि शिक्षासँग जोड्न गरिएका कार्यक्रमले परिषद्को लक्ष्यलाई समेत सहयोग पुगेको बताउनुभयो । उहाँले राष्ट्रिय बालअधिकार परिषद्को लक्ष्य पनि सबै बालबालिकाले शिक्षा, स्वास्थ्य र संरक्षणको पहुँचसम्म पुर्याउने उद्देश्यका लागि बालबालिकाको क्षेत्रमा काम गर्ने यस्ता संस्थासँग समन्वय सहकार्य गर्दै काम गरिरहेको र भविष्यमा पनि सँगसँगै काम गर्ने बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले आजका बालबालिकाले भोलि देश चलाउने भएकाले उनीहरुलाई शिक्षा, सिपसहित नैतिकवान पनि बनाउदै सक्षम बनाउने काममा यस संस्थाले पुर्याएको योगदानबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो । संस्थाका कार्यवाहक अध्यक्ष उमा तिमल्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा बाल अधिकार अभियन्ता रविन नेपालीले संस्थाको सामाजिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै आगामी दिनमा पनि यस संस्थाले लिएको बालहितको लक्ष्यलाई पारदर्शी ढङ्गले अगाडि बढाउने बताउनुभयो ।
संस्थाका कार्यकारी निर्देशक आत्मराम थापाले बाल श्रम, अभिभावक विहिनलगायतको जोखिममा परेका बालबालिकाको उद्धार व्यवस्थापन, पारिवारीक पुनः स्थापना लगायतका काम गर्ने संस्थाले स्थापना भएदेखि हालसम्म ९० हजार भन्दा बढी बालबालिकालाई बेचविखनको जोखिमबाट जोगाएको र ५० हजार बालबालिकालाई शिक्षा र सिप प्रदान गरेको बताउनुभयो ।
उहाँले गत वर्ष संस्थासँगको समन्वय विभिन्न माध्यमबाट ४१ जना बालबालिकालाई उद्धार गरिएकोमा ३४ जनालाई परिवारसँग पुन ः स्थापना गरिएको बताउनुभयो । अन्य सहयोग आवश्यक १७ जनालाई शैक्षिक सहयोग र विद्यालयमा शौचालय निर्माण, खानेपानीको व्यवस्थापनसहित बालमैत्री विद्यालय बनाउन सहयोग प्रदान गरिएको बताउनुभयो ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकाको हक, अधिकारका लागि ईस्थर बेन्जामिन स्मृति संस्थासँग अभियानले सहकार्य जारी राख्ने बताउनुभयो । उहाँले जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकामा स्थापना गरेको “बालिका सिकाइ तथा स्रोत केन्द्र” सँग पनि आवश्यक सहकार्य, भ्रमण गरी एक आपसमा बालहितको सवालमा काम गर्न तयार रहेको बताउनुभयो ।
सो अवसरमा सो संस्थाको सहयोगमा शिक्षा र सिप हाँसिल गरी हाल विभिन्न पेशा व्यवसायमा आवद्ध रहनु भएका राजु गैरे, सानुमाया तामाङ, आस्मा विक, दीपक तामाङलगायतले संस्थाको सहयोगले प्राप्त हौसलाले नै अगाडि बढ्न सहयोग मिलेको विचार व्यक्त गर्नु भएको थियो ।