राजन रावत
हुम्ला, माघ १९ गते । आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हुम्ला जिल्लामा निर्वाचन प्रहरीमा छनौट भएकाहरुको लागि दश दिने अनुशिक्षण कार्यक्रम सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाको आयोजनामा सिमकोटस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा निर्वाचन प्रहरीलाई सो कार्यक्रमक सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटनका अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउन सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले अनुशिक्षणका क्रममा प्राप्त ज्ञान र सीपलाई निर्वाचन सुरक्षामा प्रभावकारी रूपमा प्रयोग गर्न निर्देशन दिनुभयो ।
निर्वाचन प्रहरीका लागि सञ्चालन गरिएको उक्त अनुशिक्षण कार्यक्रम १० दिनसम्म सञ्चलन हुने र अनुशिक्षण पूरा गरेपछि प्रशिक्षित प्रहरीहरू निर्वाचन सुरक्षामा परिचालन गरिने प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले बताउनुभयो । निर्वाचन प्रहरीमा छनौट ५९५ हुनु भएको थियो । त्यसमा नौ जनाको नागरिकता नमिलेको कारण अनुशिक्षण सहभागिता गराईएको छैन । छनौट भएकाहरुमा १३३ जना महिला र ४६२ जना पुरुष रहनु भएको छ । निर्वाचन प्रहरी चालीस दिनका लागि भर्ना गरिनेछ ।
निर्वाचन प्रहरीमा खटिनेले प्रतिदिन ८ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनको एकमुष्ट ३४ हजार ७७६ रुपियाँ पाउने छन् । निर्वाचनमा खट्न आउने जाने बापत एक पटकका लागि ८४६ रुपियाँ चार दिनको खाजा खर्च १२ सय रुपियाँ पाउने छन् । हुम्लामा आसन्न निर्वाचनका लागि ६० वटा मतदान स्थल र ६४ मतदान केन्द्र निर्धारण गरिएका छन् । प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेको हुम्लामा ६० वटा मतदानस्थल र ६४ मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले २५ वटा अति संवेदनशील, २१ वटा संवेदनशील र दश वटा मतदानस्थललाई समान्य रुपमा बर्गिकरण गरेको छ ।