• १९ माघ २०८२, सोमबार

प्रधानमन्त्रीसमक्ष मातृभाषा शिक्षासम्बन्धी सिफारिस पेश

blog

पत्रकार सम्मेलनमा भाषा अयोगका अध्यक्ष गोपाल ठाकुर, आयोगका सदस्य डा. पुस्कर भट्टसहित पदाधिकारीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, माघ १९ गते । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मातृभाषा शिक्षासम्बन्धी सिफारिस, २०८२ र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२) सम्बन्धी नेपालको राष्ट्रिय कार्ययोजना पेस भएको छ। 

मङगलबार भाषा आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा आज प्रधानमन्त्रीसमक्ष मातृभाषासम्बन्धी सिफारिस र अन्तर्राष्ट्रिय मातृभाषा दशकसम्बन्धी राष्ट्रिय कार्ययोजना पेस गरिएको जानकारी गराइएको छ। भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरका अनुसार २०२२ देखि २०३२ सम्म आदिवासी मातृभाषा दशक तोकिए पनि कार्ययोजना पूरा हुन सकेको थिएन। 

अध्यक्ष ठाकुरले भन्नुभयो, “हामीले दुईवटा सिफारिसहरु आज पेस गरेका छौं । एउटा चाहिँ मातृभाषा शिक्षासम्बन्धी सिफारिस र आदिबासी मातृभाषा दशक २०२२ देखि २०३२ सम्मको नेपालको राष्ट्रिय कार्ययोजना बनाउँदा कस्तो रणनीति, कार्यनीति र कार्यक्रम बनाउने ? त्यसको लागत कति लाग्ने ? लागतको जोहो कसरी गर्ने ? यी कुराहरुमा केन्द्रित छन्।”

आयोगले गरेको मातृभाषासम्बन्धी सिफारिस र अन्तर्राष्ट्रिय आदिबासी भाषा दशकको राष्ट्रिय कार्यायोजना कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा भाषा आयोगका कार्यबाहक सचिव डा. लोकबहादुर लोप्चनले अन्तर्राष्ट्रिय भाषा दशक (२०२२–२०३२) र मातृभाषा शिक्षासम्बन्धी सिफारिस, २०८२ को सारांश प्रस्तुत गर्नुभयो।

डा. लोप्चनले आदिबासी भाषा दशकसम्बन्धी राष्ट्रिय कार्ययोजनामा भाषिक मानव अधिकारसहित आदिबासी भाषाहरुको संरक्षण, सम्बर्धन, विकास र प्रयोग विस्तार गरी न्यायपूर्ण र समतामूलक बहुभाषिक समाजको सिर्जना गर्ने दीर्घकालीन सोचअनुरुप रणनीति, कार्यनीति र कार्यक्रमहरु समावेश भएको बताउनुभयो। 

जसअनुसार आदिबासी भाषाको विद्यालय र उच्च शिक्षामा मातृभाषाको पहुँच अभिवृद्धि गरी पठनपाठनको सुनिश्चित्ता गर्ने, भाषाहरुको अध्ययन, सर्वेक्षण र अनुसन्धान गरी राज्यको नीति, कार्यक्रम र विकासका लागि क्रियाकलाप गर्ने, भाषाहरुको अभिलेखन, सार्वजनिकीकरण र यान्त्रिक अनुवाद पद्धतिको विकाससम्बन्धी नीति र कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु समावेश रहेको उहाँको भनाइ छ। 

उहाँका अनुसार मातृभाषा शिक्षासम्बन्धी सिफारिस २०८२ मा स्थानीय तहमा मातृभाषामा शिक्षासम्बन्धी स्थलगत अध्ययन र मातृभाषाको नक्साङ्कन, स्तर पहिचान, शिक्षामा मातृभाषाको प्रयोगको सम्भाव्यता, मातृभाषामा शिक्षासम्बन्धी आधारहरु, मातृभाषामा शिक्षासम्बन्धी सिफारिसहरु लगायतका सामग्री समावेश छन् ।