• १९ माघ २०८२, सोमबार

२३ थान हातहतियार प्रशासनमा बुझाइयो

blog

जिल्ला प्रशासन कार्यालय महोत्तरी ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, माघ १९ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि ईजाजत प्राप्त हातहतियार बुझाउन गरेको आग्रहको करिब एक महिनामा २३ थान मात्रै हतियार बुझाइएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले पुस २९ गते एक सूचना जारी गर्दै प्रतिनिधिसभा निर्वाचनको लागि आफुसँग भएको इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो ।  

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले प्रशासन गरेको आग्रहपछि अहिलेसम्म २३ जनाले मात्रै हतियार बुझाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिनुभयो ।  

प्रमुख जिल्ला अधिकारी यादवले १५ दिन भित्र जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ईजाजतपत्र प्राप्त हातहतियार बुझाउन आग्रह गरेवमोजिम अहिलेसम्म २३ जनाले मात्रै हतियार बुझाएको बताउनुभयो। महोत्तरी जिल्लामा ३१४ थान विभिन्न किसिमको हतियार ईजाजतप्राप्त रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । 

निर्वाचनको सुरक्षा संवेदनशिलतालाई हेर्दे जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाई कार्यालयमा इजाजतप्राप्त हतियार बुझाउन आग्रह गरिए वमोजिम हतियार बुझाइएको र अहिले पनि हतियार बुझाउन सकिने जनाइएको छ ।

तोकिएको समयमा हातहतियार नबुझाए वा अटेर गरेमा प्रचलित कानुन बमोजिम हातहतियार जफत गर्नुका साथसाथै कानूनी कारवाही समेत अगाडी बढाइने भएकोले हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले पुनः आग्रह गरेको छ । जिल्ला प्रशासन तथा प्रहरीमा बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने र ती हातहतियार सुरक्षित रूपमा राखिने पनि प्रजिअ यादवले बताउनुभयो । 

महोत्तरीमा १६३ मतदानस्थललाई अतिसंवेदनशील, ८९ लाई संवेदनशील मानेर सुरक्षा अवस्थाको बर्गिकरण गरिएको छ भने भदौमा जेनजी आन्दोलनमा जिल्ला कारागार महोत्तरीबाट फरार भएका धेरै कैदीवन्दी अहिलेसम्म पनि फिर्ता आउन नसकेको देखिएको छ । 

महोत्तरी जिल्लामा प्रतिनिधिसभा निर्वाचनको लागि चारवटा क्षेत्रहरुमा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र थपिएको छ । जसमा चारवटा अस्थायी मतदान केन्द्र समेत रहेका छन् ।

विगत २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनको समयमा महोत्तरीमा ४९९ मतदान केन्द्र तथा २५८ मतदानस्थल रहेको थियो जिल्ला निर्वाचन कार्यालय महोत्तरीका सूचना अधिकारी राकेश ठाकुरले जानकारी दिनुभयो । उहाँले यसपालिको निर्वाचनको लागि महोत्तरीमा महोत्तरीमा ३४ हजार २५२ मतदाता थपिएको जानकारी समेत दिनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ लाख ३५ हजार १८३ पुरुष, १ लाख ९६ हजार ९७ महिला गरी कुल ४ लाख ३१ हजार २८२ मतदाताले मत खसाल्न पाउने जनाएको छ । २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीमा ३ लाख ५७ हजार ३० मतदाता रहेको थियो । 

जिल्लामा सुरक्षा व्यवस्थापनको लागि निर्वाचन प्रहरीको तालिम समेत शुरु गरिसकिएको छ ।