काठमाडौँ, माघ १९ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दीपक खतिवडाले एन्फा नेतृत्वले ‘अर्ली इलेक्सन’का नाममा विधान विपरित काम गरिरहेको आरोप लगाउनुभएको छ ।
सोमबार पत्रकार सम्मेलनगरी उपाध्यक्ष खतिवडाले अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईले कार्यसमितिको बहुमतका आधारमा एन्फामा विधान विपरित काम गरेको, चरम बेथितिलाई प्रश्रय दिएको, एन्फा साधारणसभाको निर्णय उल्लङ्घन गरेको, एन्फा विधान र निर्वाचन निर्देशिका विपरीतको ‘अर्ली इलेक्सन’ गर्न खोजेको बताउनुभयो ।
वैशाख २६ गते काभ्रेको धुलिखेलमा सम्पन्न एन्फाको नियमित साधारण सभाले आगामी कार्यकालका लागि जिल्ला, क्लब तथा सदस्य संस्थाहरूको निर्वाचन प्रक्रिया पूरा गरेर मात्र एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको उपाध्यक्ष खतिवडाको भनाइ छ ।
तर एन्फाले अदालत, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशन र एन्फाको विधानलाई मिचेर सदस्य संस्थाको निर्वाचन प्रक्रिया पूरा नगरी केन्द्रको निर्वाचन गर्नु सरासर गलत हो, खतिवडाले भन्नुभयो ।
उहाँले एन्फा नेतृत्वले बाहिर ‘फिफाले प्रतिबन्ध लगाउँछ’ भन्दै गलत प्रचार गरेर फुटबलमा भ्रम छरिरहेको आरोप लगाउँदै नेतृत्वकै गलत कदम र कानुनी अवज्ञाका कारण नेपाली फुटबल प्रतिबन्धको जोखिममा परेको समेत बताउनुभयो ।
आफू निर्वाचनको विपक्षमा नभएको उल्लेख गर्दै खतिवडाले जिल्लाबाटै चुनिएर आएको प्रतिविधिबाट केन्द्रको निर्वाचन गरिनु पर्ने माग पनि राख्नुभयो ।
निर्वाचनका लागि हाल एन्फाको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएका उहाँले आफु उम्मेद्वारी फिर्ता लिन तयार भएको पनि बताउनुभएको छ । यसअघि माघ २८ गतेका लागि तोकिएको एन्फा निर्वाचन हाल स्थगित गरिएको छ ।