काठमाडौँ, माघ १९ गते । पाकिस्तानले भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने विश्वकपमा भारतसँग नखेल्ने घोषणा गरेको छ ।
पाकिस्तान सरकारले श्रीलङ्कामा फेब्रुअरी १५ तारिख भारतसँगको खेल बहिष्कार गर्ने जानकारी दिएको हो । पाकिस्तान सरकारले क्रिकेट टोलीलाई श्रीलङ्का जान अनुमति दिए पनि भारतसँग खेल्न अनुमति नदिएको हो ।
यसअघि सुरक्षा चिन्ताका कारण बङ्गलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बङ्गलादेशलाई विश्वकपबाट निष्कासित गरेको थियो ।
विश्वकपमा बङ्गलादेशको स्थानमा वरीयताको आधारमा स्कटल्यान्डलाई मौका दिएको छ । विश्वकपमा पाकिस्तान समूह ‘ए’ मा रहेको छ । यस समूहमा भारत, नामिबिया, नेदरल्यान्ड्स र अमेरिका छन् ।
पाकिस्तानले विश्वकपको पहिलो खेल फेब्रुअरी ७ तारिख नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ । पाकिस्तानको सबै खेल श्रीलङ्कामा रहेको छ । पाकिस्तानले भारतसँगको खेल बहिष्कार गरेमा दुई अङ्क गुमाउने छ ।
तर, समूह चरणमा भारतसँग खेल्न इन्कार गरेको पाकिस्तान यदि फाइनलमा पुग्यो र भारतसँगै फाइनल खेल्नुपर्यो भने के होला ? भन्ने प्रश्नले अहिले विश्वकपको माहोल तताएको छ ।
आइसिसीले भने पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)लाई विश्व क्रिकेटका सबै सरोकारवालाको हित सुरक्षित हुने गरी आपसी सहमतिमा समाधान खोज्न आग्रह गरेको छ ।