• १९ माघ २०८२, सोमबार

ट्रम्प र इरानः वार्ता र चेतावनी

blog

पेरिस, माघ १९ गते । इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध हुन सक्छ भनी चेतावनी दिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गर्नु भएको छ ।

गत महिनाको सरकार विरोधी प्रदर्शनप्रति इरानी अधिकारीको दमनपछि ट्रम्पले सैन्य कारबाहीको धम्की दिनुभएको थियो र मध्यपूर्वमा विमानवाहक समूह पठाउने आदेश दिनुभएको थियो । इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले हालैको विरोध प्रदर्शनलाई ‘कु’ सँग तुलना गर्दै अमेरिकी आक्रमणले व्यापक द्वन्द्व निम्त्याउने चेतावनी दिनुभएको छ । खामेनीले ‘यदि अमेरिकीले युद्ध सुरु गरे भने यो पटक क्षेत्रीय युद्ध हुने छ’ र इरानी जनता डराउन नपर्ने बताउनुभएको छ ।

इरानमा प्रदर्शन जीवनयापनको उच्च लागतको विरोधबाट सुरु भए पनि सरकार विरोधी आन्दोलनमा परिणत भएका थिए, जसलाई देशका नेताले संयुक्त राज्य अमेरिका र इजरायलले भड्काएको ‘दङ्गा’ भनेका छन् । इरानी अधिकारीले हिरासतमा रहेका प्रदर्शनकारी एरफान सोल्टानीलाई जमानतमा रिहा गर्न आदेश दिएका थिए । तर उनका वकिलका अनुसार वासिङ्टनले उनलाई मृत्युदण्डको खतरा छ भनी चेतावनी दिएको थियो । 

जनवरीमा उनलाई राष्ट्रिय सुरक्षाको विरोध गरेको आरोपमा इरानको न्यायपालिकाले पक्राउ गरेको थियो, तर तेहरानले उनलाई मृत्युदण्ड कहिल्यै नदिएको जनाएको छ । तेहरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले संयुक्त राज्य अमेरिकामा विश्वास गुमाएको छ तर मध्यस्थ देशले विश्वास पुनर्निर्माणमा सहयोग गरिरहेको बताउनुभयो । उहाँले सिएनएनसँगको अन्तर्वार्तामा भन्नुभयो, “यदि अमेरिकी वार्ता टोलीले ट्रम्पको निर्देशन अनुसरण गर्छ भने निष्पक्ष सम्झौतामा पुग्न सम्भावना छ, जसले आणविक हतियार नभएको सुनिश्चित गर्ने छ ।”

तेहरानले विरोध प्रदर्शनका क्रममा हजारौँको मृत्यु स्वीकार गरेको छ । सर्वोच्च नेता खामेनीले तीन हजार ११७ मध्ये दुई हजार ९८६ व्यक्तिको नाम सार्वजनिक गर्नु भएको छ जसमा अधिकांश सुरक्षा बलका सदस्य र निर्दोष नागरिक थिए । अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ताले छ हजार ८४२ जनाको मृत्यु पुष्टि गरेका छन्, जसमा अधिकांश प्रदर्शनकारी थिए । यसपछि युरोपेली सङ्घ (इयु) ले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सलाई आतङ्कवादी सङ्गठनका रूपमा सूचीबद्ध गरेको थियो, जसलाई इरानी सांसदले प्रतिशोध स्वरूप आलोचना गरेका छन् ।

घरेलु नागरिक चिन्तित र डराएका छन्, कतिपयले मध्यरातमा समाचार हेरेर सुरक्षा स्थिति जाँच गरेका छन् । तेहरानका अधिकारी भने वार्ताका लागि संरचनात्मक व्यवस्था प्रगतिमा रहेको बताएका छन् । ट्रम्पले पनि वार्ता भइरहेको पुष्टि गर्नु भएको छ तर आफ्नो पहिलेका धम्की फिर्ता लिएर वार्ता सञ्चालन गर्ने दृष्टिकोण राख्नु भएको छ । अमेरिकी राष्ट्रपतिले इरानले सैन्य कारबाहीको सट्टा आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रममाथि सम्झौता गर्ने विश्वास रहेको बताउनु भएको छ । तेहरानले आफ्नो क्षेप्यास्त्र र रक्षा क्षमता वार्तामा नभए पनि आणविक वार्ताका लागि तयार रहेको सङ्केत दिएको छ । रासस/एएफपी