• १९ माघ २०८२, सोमबार

त्रिभुवन विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

blog

गोरखापत्र अनलाइन 

काठमाडौँ, माघ १९ गते । कुरियरमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिएको टोलीले विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत इन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा छविप्रसाद रिजाललाई डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीको उजुरीपछि कारबाही हुलाक सेवा विभागको गोश्वारा हुलाक कार्यालयस्थित पार्सल (निकासी) शाखामा कार्यरत कर्मचारीहरूले सामान निकासी गर्दा दुःख दिने र अतिरिक्त रकम माग गर्ने गरेको उजुरी आयोगमा परेपछि टोली परिचालन गरिएको थियो ।

माघ १८ गते टोलीले उनीहरूलाई घुसको नगद र स्रोत नखुलेको रकमसहित रङ्गेहात फेला पारेको आयोगले जनाएको छ ।

नगद र मोबाइल बरामद 

आयोगका अनुसार खानतलासीका क्रममा कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षको घर्रा र निजको साथबाट घुसबापत लिएको १० हजारसहित कुल एक लाख ४६ हजार ४२० रुपियाँ बरामद गरिएको छ । यस्तै, नायब सुब्बा छवि प्रसाद रिजालको साथबाट घुसबापतको २० हजारसहित ३८ हजार ८४८ रुपियाँ फेला परेको छ ।

टोलीले अभियुक्तहरूको साथबाट स्रोत नखुलेका अन्य रकम र विभिन्न व्यक्तिहरूको २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका कर्मचारीहरूको साथबाट कुल दुइ लाख ६८ हजार २८८ रुपियाँ बरामद भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी भ्रष्टाचार निवारण ऐन बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।