गुणबहादुर रोका
सुलीकोट, माघ १९ गते । सवारी दुर्घटनाबाट हुने मानविय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्येश्यले गोरखामा ट्राफिक प्रहरीले जोखिमयुक्त सडक खण्डलाई ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरी चेतवानीमुलक बोर्ड स्थापना गर्दै अभियान सुरु गरेको छ ।
पछिल्ला वर्षमा बारम्बार दुर्घटना भइरहेका स्थानमा चालकलाई सचेत गराउने उद्देश्यले उक्त पहल थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरोज अर्यालले जानकारी दिनुभयो ।
आइतबार गोरखा आँबुखैरनी सडक खण्ड अन्र्तगत ठिगुरेस्वाँरास्थित नाम्जलीडाँडा ब्यारेक, बिरेञ्चोक तथा गोरखा आरुघाट सडकखण्डको फिनाम क्षेत्रमा चेतावनी बोर्ड जडान गरिएको छ । यी क्षेत्रहरुमा पछिल्ला तीन वर्षको अवधिमा गम्भीर प्रकृतिका दुर्घटना दोहोरिँदै गएका कारण ब्ल्याक स्पट को सूचीमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सडक खण्डमा कुनै क्षेत्रमा तीन वर्षभित्र मृत्यु वा गम्भीर घाइते हुने कम्तीमा पाँच वटा दुर्घटना भएको खण्डमा त्यस स्थानलाई ब्ल्याक स्पटको रूपमा वर्गीकरण गरिन्छ, ट्राफिक प्रमुख अर्यालले भन्नुभयो, ‘ब्ल्याक स्पट पहिचान भएपछि त्यहाँ जोखिमको सङ्केत सहित चेतावनी बोर्ड राखिन्छ, ताकि चालकहरू पहिले नै सतर्क हुन सकुन्,’ उहाँले भन्नुभयो ।
जिल्लामा दुर्घटनाका कारणमध्ये तीब्र गति भएकाले नियन्त्रणलाई पनि प्राथामिकता दिइएको छ । गोरखाको टक्सार देखि बिरेञ्चोकसम्मको ओरालो खण्ड र फिनामको तिब्र घुम्ती क्षेत्रमा अधिकतम गति सीमा तोकेर बोर्ड राखिएको छ । बिरेञ्चोक क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटर र फिनाम क्षेत्रमा ३० किलोमिटर भन्दा बढी गतिमा सवारी चलाउन नपाइने व्यवस्था गरिएको छ ।
तोकेको गतिभन्दा बढी बेगमा सवारी चलाएमा कडाइका साथ कारबाही गरिने ट्राफिक प्रहरीले चेतावनी दिएको छ । जोखिमयुक्त सडक संरचना घुम्ती र ओरालोलाई ध्यानमा राखेर गति सीमा निर्धारण गरिएको जनाउँदै ट्राफिक प्रहरीले सबै चालकलाई नियम पालन गर्न आग्रह गरेको छ । यस अभियानले गोरखामा सवारी दुर्घटनाको सङ्ख्या घटाउने विश्वास लिइएको ट्राफिक प्रहरी गोरखाले जनाएको छ ।