• १९ माघ २०८२, सोमबार

दुबईमा ‘वल्र्ड लरेटिट्स सम्मेलन’: एआई र अन्तरिक्ष प्रविधिमा वैश्विक छलफल

blog

दुबई, माघ १९ गते । विश्वभरका १५० भन्दा बढी वैज्ञानिक, नोबेल पुरस्कार विजेता लगायतका निमन्त्रित सहभागी दुबईमा आइतबारदेखि सुरु भएको ‘वल्र्ड लरेटिट्स सम्मेलन’मा भेला भएका छन् । तीन दिनसम्म चल्ने यो सम्मेलनले मानवताका चुनौती समाधान गर्ने र सभ्यताको भविष्य निर्माण गर्ने विषयमा विचार विमर्श गर्ने उद्देश्य राखेको छ ।

‘मूलभूत विज्ञानः मानवताका चुनौती समाधानका लागि वैज्ञानिक सहमति’ भन्ने विषयमा आयोजित सम्मेलन वल्र्ड गभर्नेन्स सम्मेलन सन् २०२६ सँगै सञ्चालन भइरहेको छ । यसले वैश्विक नीति, आर्थिक प्रणाली र प्रविधि नवप्रवर्तनमा मूलभूत वैज्ञानिक अनुसन्धानको महत्त्वपूर्ण भूमिका उजागर गरेको छ । सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, क्वान्टम विज्ञान, न्यानो प्रविधि, ऊर्जा र उन्नत सामग्री जस्ता क्षेत्रमा छलफल हुने बताइएको छ ।

वल्र्ड गभर्नेन्स सम्मेलनको उपाध्यक्ष ओमार सुल्तान अल ओलामाले भन्नुभयो, “वैज्ञानिक ज्ञान र निर्णय प्रक्रियालाई एउटै छानामुनि ल्याएर हामी मानव सभ्यताका उपलब्धिको संरक्षण गर्ने र भविष्यका नीति निर्माणमा दिगो र प्रमाणमूलक प्रगतिका लागि मार्ग निर्देशन गर्ने विश्व सन्दर्भ निर्माण गर्न खोज्छौँ ।” वल्र्ड लरेटिट्स एसोसिएसनका अध्यक्ष तथा नोबेल विजेता रोजर कार्नबर्गले सम्मेलनले वैज्ञानिकलाई सभ्यता, समृद्धि र मानव प्रगतिका लागि दीर्घकालीन सोचमा प्रत्यक्ष योगदान गर्ने दुर्लभ अवसर प्रदान गरेको बताउनुभयो ।

जियाङमेन अन्डरग्राउन्ड न्युट्रिनो वेधशालाका मुख्य वैज्ञानिक वाङ यिफाङले भन्नुभयो, “मानव इतिहासका लगभग सबै प्रमुख चुनौती अन्ततः मूलभूत विज्ञानका प्रगतिबाट समाधान भएका छन् ।” सम्मेलनले वैज्ञानिक समुदायलाई खुला र सहयोगात्मक बनाइ राख्दा, मानव प्रगति र साझा विकासका लागि योगदान सुनिश्चित गर्न सकिने वकिल गरिएको छ । रासस/सिन्ह्वा