• १९ माघ २०८२, सोमबार

लमजुङमा आठ वर्षपछि दलहरु एक्लाएक्लै मैदानमा

blog

लमजुङमा प्रतिस्पर्धामा रहेका प्रमुख राजनीतिक दलका उम्मेदवारहरु । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

 लमजुङ, माघ १९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आठ वर्षपछि लमजुङका राजनीतिक दलहरु एक्लाएक्लै चुनावी मैदानमा उत्रीएका छन् । २०७४ मा एमाले–माओवादी र २०७९ मा कांग्रेस–माओवादीसहित पाँच दलिय गठबन्धन रहेकोमा अहिले दलहरु एक्ला एक्लै चुनावी मैदानमा आएका हुन् ।

हालको नेकपा र तत्कालीन नेपाल कम्युनिस्ट (माओवादी केन्द्र) ले यस अघिका दुई वटा निर्वाचनमा प्रतिनिधिसभाका लागि अरु दलसँग गठबन्धन गर्दा २०७४ मा बिजयी बनेको थियो भने २०७९ मा पराजय भोगेको थियो । तत्कालीन माओवादी केन्द्रले २०७४ को निर्वाचनमा नेकपा एमालेको साथमा देवप्रसाद गुरुङ बिजयी हुनुभएको थियो भने माओवादी केन्द्रले प्रदेशसभामा एमालेलाई सहयोग गर्दा पृथ्वीसुब्बा गुरुङ र धनञ्जय दवाडी विजयी बन्नुभयो । त्यसबेला तीनवटै सिट बाम गठबन्घनले जितेको थियो ।

२०७९ को निर्वाचनमा कांग्रेससहित पाँच दलिय गठबन्धन गर्दा प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ पराजित बन्नुभयो भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार डा. टकराज गुरुङ र भेषबहादुर पौडेल विजयी हुनुभयो । दुई वटा निर्वाचनमा पार्टीको चुनाव चिह्नमा मत हाल्न नपाएका कार्यकर्ताहरु यसपाली भने आफ्नै पार्टीको चुनाव चिन्हमा मत खसाल्न पाउने भएका छन् । माघ ६ गते उम्मेदवारी दर्ता गरेसँगै उम्मेदवारहरु ग्रामीण बस्तीका मतदाताको घरदैलोमा चुनावी अभियानका बारेमा छलफल गर्नुका साथै मत माग्न पुगेका छन् । दलहरु एक्लाएक्लै चुनवमा होमिदा मतदाताहरुपनि खुसी भएका छन् । 

२०७९ को प्रतिस्पर्धामा पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याएर विजयी हुनुभयो । गठबन्धनबाट देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गर्नुभयो । कुल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेको लमजुङमा त्यो बेला ८० हजार १ सय ९२ मत खस्दा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले २ हजार २ सय ३१ मत प्राप्त गर्नुभएको थियो । 

समानुपातिकतर्फ चाहिँ एमालेले ३१ हजार १ सय ७८, नेपाली कांग्रेसले २७ हजार ७ सय ९६ मत र माओवादी केन्द्रले ६ हजार ४ सय ८३ मत ल्याएका थिए । पहिलो संसदीय चुनावमा होमिएको रास्वपाले ८ हजार २ सय १७ मत, राप्रपाले २ हजार ३०८ मत प्राप्त गर्दा नेकपा (एस)ले ५९२, नेसनल मंगोल अर्गनाइजेशनले ४९७ र जसपाले २६१ मत पाएका थिए । नेकपा (एस) यतिबेला नेकपामा समाहित भएको छ ।

यस पटको निर्वाचनमा लमजुङमा नेकपा एमालेका उपाध्यक्ष पृव्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसबाट गमप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट हरिजंग तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धर्मराज केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केविन्द्रजंग गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविन्द्र नखोला, श्रम संकृति पार्टीबाट कोषलाल गुरुङ,मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेश्नल रिपब्लिक पार्टीका भरत गुरुङ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे चुनाबी मैदानमा रहनु भएको छ । 

लमजुङमा १ लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना रहेका छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्या तीन हजार ४०७ जनाले बढेको छ ।