• १९ माघ २०८२, सोमबार

फ्रेन्च भाषाकी ज्ञाता पहिलो नेपाली नारी

blog

राणाकालमा सुदूरपश्चिमका डोटी, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्लाबाट कतिपय मानिस बसाइँ सरेर त कोही जागिरका सिलसिलामा काठमाडौँ आइपुगे । त्यहीँ घरजम गरे । राणाकालमै काठमाडौँ बसाइँ सर्नेहरूमा बझाङी, थलारी र बाजुरेली राजखलक प्रमुख थिए । त्यसै गरी जागिरका सिलसिलामा डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलाका ठकुरी तथा ब्राह्मण समुदायका मानिस पनि काठमाडौँ आए । त्यसरी काठमाडौँ आउनेमा डोटीको मौवाका ओझा, डडेलधुराको हाटगाउँका उप्रेती र तिलाडीका जोशी, बझाङको बुङ्गलका सिंह, बैतडीका भट्ट तथा दार्चुलाको मार्माका सिंहसमेत थिए ।

डोटीको मौवाबाट काठमाडौँ आएका चन्द्रदेव ओझाले विसं १९९४ मा दरबार हाइस्कुलबाट एसएलसी बोर्ड परीक्षामा पहिलो स्थान हासिल गरेका थिए । त्यतिबेला डोटीको मौवाका मनिराम ओझाको काठमाडौँको ठमेलमा बसोबास थियो । उनै मनिराम र श्रीमती पार्वती ओझाको कोखबाट भगवती ओझाको जन्म भयो । विसं १९९४ मङ्सिर ९ गते ठमेलमा जन्मेकी भगवतीको डिल्लीराज उप्रेतीसँग बिहे भएको थियो ।

त्यसै समय काठमाडौँको कालिकास्थान क्षेत्रमा डडेलधुराको हाटगाउँका उप्रेतीहरूको बसोबास थियो । चन्द्रशमशेरको शासनकालमा डडेलधुराबाट भारतमा बिए, बिएल उत्तीर्ण गरेका मुरलीधर उप्रेती र उनका भाइ गोपीनाथ उप्रेती काठमाडौँको कालिकास्थानमा आएर बसे । मुरलीधरले मीरसुब्बाको जागिर खाए । राणाकालीन मीरसुब्बा मुरलीधरका पाँच छोरा पुष्करनाथ उप्रेती, विजयदेव उप्रेती, डिल्लीराज उप्रेती, चन्द्रधर उप्रेती र श्रीधर उप्रेती थिए । तीमध्ये पुष्करनाथ प्रजापरिषद्का सदस्य भए ।

पुष्करनाथ (पछि मन्त्री पनि भए) टङ्कप्रसाद आचार्यसँगै राणाकालमा कठोर जेल जीवन बिताएका ज्युँदा शहीदका रूपमा परिचित छन् । डिल्लीराज फ्रान्सको राजदूत बने भने चन्द्रधर  (डा. अरुणा उप्रेतीका पिता) नेपाल ल क्याम्पस र कैलाली बहुमुखी क्याम्पसका संस्थापकमध्ये एक हुन् ।

डडेलधुराबाटै काठमाडौँ बसाइँ सरेको उप्रेती परिवारका अर्का विशिष्ट व्यक्तित्व त्रैलोक्यनाथ उप्रेती (त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा फ्रान्सका लागि पूर्वराजदूत) का पिता नन्दराम उप्रेती हुन् । यसरी काठमाडौँमा बसोबास गर्दै आएका डोटीका ओझा परिवार र डडेलधुराका उप्रेती परिवारबीच पहिल्यैदेखि वैवाहिक सम्बन्ध रहँदै आएको थियो ।

त्यतिबेला छोरीचेलीलाई सानै उमेरमा कन्यादान गरी विवाह गरिदिने सामाजिक चलन प्रचलित भएकाले भगवतीको मात्र नौ वर्षको उमेरमै कालिकास्थानका १८ वर्षीय डिल्लीराजसँग विवाह भयो । उप्रेती परिवार शिक्षित र प्रगतिशील भएकाले भगवतीको पढाइ अवरुद्ध भएन । श्रीमान् डिल्लीराजको प्रेरणा र सहयोगमा उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन पाइन् । अध्ययनका लागि भगवती माइतीमै बसिन् । उनले कक्षा १० सम्म अध्ययन गर्न पाए पनि एसएलसी परीक्षा भने दिन पाइनन् ।

विवाहपछि बुहारीले घर व्यवहार समाल्नु अनिवार्य थियो । यही सामाजिक मान्यता अनुसार भगवतीले घरजम समालिन् । त्यस क्रममा १०–१२ वर्ष भगवती सामान्य गृहिणीका रूपमा रहिन् । यसै अवधिमा उनकी जेठी छोरीको जन्म भयो । श्रीमान् डिल्लीराज भने त्रिचन्द्र कलेजमा विज्ञान विषय पढाउँथे । त्रिचन्द्रमा प्राध्यापन रहेकै बखत फ्रान्स पुगेका डिल्लीराजले पेरिसमा मुख्यालय रहेको युनेस्कोमा जागिरका लागि आवेदन दिए । उनको आवेदन स्वीकृत भयो । उनलाई काम गर्न पेरिस बोलाइयो तर त्यतिबेला नेपाल सरकारले आफ्ना नागरिकलाई विदेशमा काम गर्न सजिलै अनुमति दिँदैनथ्यो ।

सोही कारण युनेस्कोमा छनोट भइसकेपछि पनि उनले तत्काल फ्रान्स जान पाएनन् । पछि बिपी कोइराला नेतृत्वको सरकारमा डोटीबाट मन्त्री रहेका शिवराज पन्त (डिल्लीराजका मामा) को पहलमा उनले पासपोर्ट पाए । त्यसपछि डिल्लीराज जागिरका लागि फ्रान्स गए । डिल्लीराज नेपालबाट युनेस्कोमा काम गर्ने पहिलो नेपाली हुन् ।

फ्रान्स पुगेको केही समयपछि उनले आफ्नी श्रीमती भगवतीलाई पनि उतै बोलाए । त्यतिबेला उप्रेती दम्पतीबाट तीन सन्तान (छोरा–छोरी) जन्मिसकेका थिए । श्रीमान्ले बोलाएपछि भगवती जेठी छोरी र छोरालाई आमाको जिम्मामा छोडेर सानी छोरीसँगै पेरिस पुगिन् । फ्रान्स पुगेपछि त्यहाँको विकासस्तर, मानिसको रहनसहन र व्यवहारबाट उनी अत्यन्त प्रभावित भइन् ।

फ्रेन्च भाषामा डिप्लोमा

फ्रान्समा दैनिक जीवनमा प्रायः फ्रेन्च भाषा मात्र प्रयोग हुन्थ्यो, अङ्ग्रेजी बोलिँदैनथ्यो । यही कारण भगवतीले प्रारम्भमा गम्भीर भाषिक कठिनाइ झेल्नु प¥यो । छोरीलाई विद्यालय पठाउँदा, सामान्य किनमेल गर्दा समेत फ्रेन्चमै बोल्नु पथ्र्यो । यसै क्रममा उनले छोरीकै विद्यालय आउजाउ गर्ने अन्य महिलासँग फ्रेन्च सिक्ने प्रयास गरिन् तर त्यो सम्भव भएन ।

भाषा नबुझ्दाको कठिनाइले उनलाई झन् दृढ बनायो । अन्ततः उनले फ्रेन्च भाषा सिकेरै छाड्ने अठोट लिइन् । त्यसपछि ग्रामोफोनमा फ्रेन्च भाषाका रेकर्ड सुन्ने, उच्चारण अभ्यास गर्ने र शब्द भण्डार कण्ठस्थ गर्ने कार्यमा लागिन् । त्यसपछि उनी औपचारिक रूपमा फ्रेन्च भाषा सिक्न विद्यालय भर्ना भइन् । करिब अढाई वर्षको अध्ययनपछि उनले फ्रेन्च भाषामा डिप्लोमा उत्तीर्ण गरिन् । यसै अवधिमा उनले मोटर चलाउन पनि सिकिन् र पेरिसमै ड्राइभिङ लाइसेन्ससमेत निकालिन् ।

नेपाल फिर्ता

श्रीमान् डिल्लीराजको जागिरका कारण भगवती करिब १२ वर्ष फ्रान्समा बसिन् । तत्कालीन राजा महेन्द्र फ्रान्स भ्रमणका क्रममा पेरिस पुग्दा उनले डिल्लीराजलाई नेपाल फर्केर काम गर्न भने । त्यसपछि उप्रेती परिवार नेपाल फर्कियो । नेपाल फर्किएपछि भगवतीले ‘थर्ड आई टुर’ नामक एजेन्सीमा फ्रेन्च दोभाषेका रूपमा काम गरिन् । यसरी उनी प्रमाणपत्र (डिप्लोमा) प्राप्त गरी फ्रेन्च भाषा अध्ययन गर्ने पहिलो नेपाली महिला बन्न सफल भइन् ।

फ्रेन्च भाषामा दक्ष भगवती काठमाडौँमा फ्रान्स तथा अन्य फ्रेन्च भाषी देशका उच्चस्तरीय भ्रमणको अवसरमा भाषा अनुवादकका रूपमा आमन्त्रित हुन थालिन् । यसै क्रममा उनले मोरक्को दूतावासको राष्ट्रिय दिवसका अवसरमा सोल्टी होटेलमा आयोजित कार्यक्रममा सहजीकरणको भूमिका निर्वाह गरिन् । पछि सन् १९८३ मा फ्रान्सका राष्ट्रपति फ्रास्वाँ मितराँको नेपाल भ्रमणका क्रममा आयोजित राजकीय भोजमा भगवतीले दोभाषे भूमिका निर्वाह गरिन् । सो अवसरमा उनलाई राजदरबारमा विशेष रूपमा आमन्त्रण गरिएको थियो ।

फ्रान्सका राष्ट्रपति मितराँको नेपाल भ्रमणको दोस्रो वर्ष अर्थात् सन् १९८४ मा भगवतीका श्रीमान् डिल्लीराज फ्रान्सका लागि नेपाली राजदूत नियुक्त भए । त्यसपछि भगवती राजदूत पत्नीको हैसियतमा दोस्रो पटक पेरिस पुगिन् । फ्रेन्च भाषामा दक्षता हासिल गरिसकेकी भगवतीले त्यस अवधिमा पेरिसबाहिरका फ्रान्सेली सहर र गाउँसमेत भ्रमण गर्दै नेपालका इतिहास, संस्कृति र सम्भावनाबारे जानकारी गराइन् । पर्यटन प्रवर्धनका लागि उनले खेलेको भूमिका उल्लेखनीय रह्यो । फ्रान्स बसाइँका क्रममा पनि उनी सधैँ नेपाली मौलिक पहिरनमै रहिन् र आफ्नो सांस्कृतिक पहिचान र परम्परालाई आत्मसात् गरिन् । हाल ८८ वर्षीय भगवती आज पनि उत्तिकै स्वस्थ, सचेत र सक्रिय छिन् । युट्युब र टेलिभिजनमार्फत उनले आफ्ना जीवन अनुभव र ऐतिहासिक स्मृति सार्वजनिक रूपमा बाँडिरहेकी छन् ।

सुदूरपश्चिमको नाम सुन्नासाथ अनुहार बिगार्ने इतर समुदायका लागि भगवती एक अनुपम र उदाहरणीय नारी प्रतिभा हुन् । सुदूरपश्चिमेली परिवारमा जन्मिएर सुदूरपश्चिमेली परिवारमै घरजम गर्दै उनले आफ्नो क्षमता, परिश्रम र बुद्धिमत्ताको बलमा फ्रेन्च भाषा सिकिन् । आफूले सिकेको सिपलाई व्यवहारमा उतारिन् । भगवती व्यक्तिगत सफलता हासिल गर्न सफल नारी मात्र नभई आमनेपाली नारीका लागि प्रेरणाकी स्रोत पनि हुन् । 

–युवामञ्च 

Author

रतन भण्डारी