• १९ माघ २०८२, सोमबार

नयाँ र पुरानो दलबिच प्रतिस्पर्धा

blog

माधवप्रसाद बराल

माछापुच्छे« (कास्की), माघ १९ गते   । २०४८ देखि आलोपालो नेपाली कांग्रेस र नेकपा (एमाले) ले लगातार चुनाव जित्दै कास्की–१ मा यस पटक नयाँ दलले टक्कर दिने गरी चुनावी मैदानमा उत्रेका छन् । चुनावी इतिहास बदल्ने रणनीतिका साथ नयाँ पार्टी चुनावमा होमिएका छन् भने कांग्रेस, एमाले र नेकपा विगतको विरासत जोगाउने कसरतमा छन् । 

यो क्षेत्रमा कांग्रेसका तारानाथ रानाभाट २०४८ र ५६ मा निर्वाचित हुनुभएको थियो । २०७० को दोस्रो संविधान सभा चुनावमा कांग्रेसकै यज्ञबहादुर थापा विजयी हुनुभएको थियो । एमालेका खगराज अधिकारी २०५१ र ७४ मा र मनबहादुर गुरुङ २०७९ मा निर्वाचित हुनुभएको थियो । २०६४ को पहिलो संविधान सभामा तत्कालीन माओवादीका देव गुरुङ र २०६५ मा भएको उपनिर्वाचनमा माओवादीकै कृष्णबहादुर गुरुङ निर्वाचित हुनुभएको थियो । तत्कालीन माओवादीका देव गुरुङ २ क्षेत्रबाट निर्वाचित हुँदा कास्की छोडेपछि उपचुनाव भएको थियो ।  

एकपछि अर्को चुनावमा फरक फरक दलका उम्मेदवार विजयी हुने गरे पनि २०७४ र ७९ एमाले विजयी भएको यो क्षेत्रमा आफ्नो विरासत जोगाउने रणनीतिमा छ । एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री, कांग्रेसबाट तिलकबहादुर रानाभाट, नेपाली कम्युनिस्ट पार्टीबाट राजकाजी गुरुङ (करण), राष्ट्रिय स्वतन्त्र पार्टीबाट खड्कराज पौडेल (गनेस), राप्रपाबाट बाबुराम थापालगायत १७ जना चुनावी मैदानमा हुनुहुन्छ । एमाले कास्की अध्यक्षसमेत रहनुभएका बैनबहादुर अधिकारी तत्कालीन कालिका गाविसको उपाध्यक्षहुँदै राजनीतिमा होमिनुभएको हो । जिल्ला समन्वय समिति कास्कीका निवर्तमान प्रमुख अधिकारीको संसदीय चुनावमा प्रतिस्पर्धा पहिलो हो । नेतृत्व हस्तान्तरण र रूपान्तरणको एजेन्डामा तिलक रानाभाटलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएर विगतको विरासत फर्काउने योजनामा छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका रानाभाट काठमाडौँमा व्यवसाय गरिरहनुभएको छ ।

नेकपाबाट कास्की–१ मा उम्मेदवार बन्नुभएका राजकाजी गुरुङ २०६४ मा कास्की क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो । उहाँ २०७० मा पर्वत–२ र २०७४ मा कास्की–२ (ख) मा प्रतिस्पर्धी हुनुहुन्थ्यो । पुराना र प्रतिस्पर्धी अन्य दलले गुरुङ उम्मेदवार बनाएकाले आदिवासी जनजातिको मत आफ्नो पक्षमा पारेर जित निकाल्ने दाउमा नेकपा छ । अटेरी अभियानबाट लौरो चिह्न लिएर २०७९ मा पोखराको मेयर उठ्नुभएका खडकराज पौडेल (गनेस) लेखक तथा विश्लेषकको परिचय बनाउनुभएको छ । नेपालको महिला एस्ट्रो फोटोग्राफरको नामले परिचित मनीषा द्वा पनि चुनावी दौडमा हुनुहुन्छ । टेलिस्कोपबाट आकाश नियाल्ने खगोलशास्त्री मनीषा उज्यालो नेपाल पार्टीबाट कास्की १ मा उम्मेदवार  हुनुहुन्छ । 

यो क्षेत्रमा नेपाल मानवतावादी पार्टीका आशबहादुर दमाई, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कर्णबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, नेसनल मङ्गोल अर्गनाइजेसनबाट मान थापा, श्रम संस्कृति पार्टीबाट विलबहादुर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट कुमार परियार, नेपाल जनमुक्ति पार्टीका मीनबहादुर दर्जी, नेसनल रिपब्लिक नेपालका यज्ञबहादुर गुरुङ, जनता समाजवादी पार्टीका रामकाजी चर्मकार र आम जनता पार्टीका हर्कबहादुर थापा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यो क्षेत्रमा कृष्णबहादुर राउतले मात्र स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।