प्रतीक इच्छुक शर्मा
सल्यान, माघ १८ गते । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) जयराज सापकोटाले प्रहरीको पहिलो प्राथमिकता शान्ति सुरक्षा कायम गर्नु र अपराध अनुसन्धान नियन्त्रण रहेको बताउनुभएको छ।
सल्यान जिल्लामा अनुगमनका लागि आइपुग्नुभएका डीआइजी सापकोटाले स्थानीयवासी तथा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा जनताको सेवालाई केन्द्रमा राखेर प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । नागरिकको सहयोगबिना समाजमा दिगो शान्ति सुरक्षा कायम गर्न नसकिने स्पष्ट पार्दै उहाँले प्रहरी–नागरिक सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
“नागरिक नै वर्दीविनाका प्रहरी हुन्” भन्ने अवधारणालाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै डीआइजी सापकोटाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमले सकारात्मक नतिजा दिएको उल्लेख गर्नुभयो । प्रहरी र नागरिकबिचको आपसी विश्वास र सहकार्यबाट मात्रै सभ्य र सुरक्षित समाज निर्माण सम्भव हुने उहाँको भनाइ छ ।
आगामी निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिँदै उहाँले निर्वाचनको क्रममा सबैले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
मतदाताले इच्छाएको उम्मेदवारलाई स्वतन्त्र रूपमा मतदान गर्न पाउने वातावरण सिर्जना गर्नु सबैको साझा दायित्व भएको भन्दै सबै विचारको सम्मानबाट मात्रै लोकतन्त्र सुदृढ हुने बताउनुभयो ।
कार्यक्रममा सल्यानका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक हेमबहादुर केसीले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई व्यवस्थित गर्दै सामाजिक कार्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो । उहाँले कुनै पनि किसिमको अपराधलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।
अन्तरक्रियामा सहभागी स्थानीय इन्द्रा भण्डारीले परिवर्तनशील समाज र सूचना प्रविधिको विकाससँगै अपराधका नयाँ स्वरूप देखिन थालेकाले प्रहरीले थप चनाखो र स्रोत साधनयुक्त हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजाल लगायतको उपस्थिति थियो ।