सन्तोष दहित
दाङ, माघ १८ गते । दाङमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा स्कुटरको पछाडि सवार लमही नगरपालिका ६ निवासी २२ वर्षीय अंकित चौधरी गम्भीर घाइते हुनुभएको थियो।
घाइते अंकितलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । उहाँको अनुसार आइतबार दिउँसो करिब ३ बजेतिर घोराही उपमहानगरपालिका १५ स्थित भिंग्रेली होटेल नजिक उक्त दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार स्कुटर चालक अंकितका बुवा ५३ वर्षीय झपेन्द्रबहादुर चौधरी हुनुहुन्छ। दुर्घटनामा उहाँ पनि घाइते हुनुभएको छ । झपेन्द्रको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आशंकामा ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।