लन्डन, माघ १८ गते। जीवन विज्ञान अभियानका संस्थापक एल पी भानु शर्माले अहिले सारा संसारलाई स्वास्थ्य र आरोग्य चाहिएको र नेपालले त्यो सारा विश्वलाई दिनसक्ने बताउनु भएको छ।
योग, ध्यान र अध्यात्ममार्फत स्वस्थ, सुखी र समृद्ध जीवनशैली प्रवर्द्धन गर्दै आएको सामाजिक संस्था जीवन विज्ञान युकेको छैठौं वार्षिकोत्सवको अवसरमा आइतबार भर्चुएल माध्यमद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै शर्माले जीवन विज्ञान अभियान सम्पूर्ण विश्वका लागि अध्यात्मको मार्गचित्र भएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘नेपालले हजारौं वर्षदेखि संरक्षण गर्दै आएको प्रामाणिक ध्यान र योग परम्परालाई विश्वसामु प्रस्तुत गर्नु आजको आवश्यकता हो। प्रत्येक नेपाली जन्मजात योगी हो। युद्ध र अशान्तिले आक्रान्त विश्वलाई नेपालले स्वास्थ्य, शान्ति र आरोग्यको सन्देश दिन सक्छ।’
शर्माले नेपाललाई हिमवत् खण्ड र आरोग्य भूमिको रूपमा चित्रण गर्दै नेपालको आर्थिक प्रगति र समृद्धिको मेरुदण्ड आरोग्य पर्यटन हुन सक्ने धारणा राख्नुभयो। उहाँले आरोग्य पर्यटन नीति बनाउन नेपाल सरकारसंग काम गरिरहेको बताउँदै यसलाई नेपालको भविष्यको ठूलो सम्भावनाका रूपमा व्याख्या गर्नुभयो।
उहाँले आगामी जुलाई र अगष्ट महिनामा दक्षिण पूर्वी लन्डनमा चक्र विज्ञान तथा ऐश्वर्य विज्ञान सम्बन्धी आरोग्य तालिम सञ्चालन हुने बताउनुभयो।

यसैगरी रमेश नेपालले चक्र विज्ञान र ऐश्वर्य विज्ञान जीवनको सुख, शान्ति र समृद्धिको आधार भएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आग्रह गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले जीवन विज्ञान युकेको योगदानको प्रशंसा गर्दै समाजका लागि समर्पित भावनाका साथ काम गर्नु सराहनीय रहेको बताउनुभयो।
जीवन विज्ञान युकेका ट्रष्टी तुलसी पौडेलले संस्थाको पछिल्लो एक वर्षको गतिविधिबारे संक्षेपमा जानकारी गराउनुभयो। कार्यक्रममा भजन, नृत्य तथा सांस्कृतिक प्रस्तुति समावेश थिए।
कार्यक्रमको अन्त्यमा ट्रष्टी प्रेम खड्काले जीवन विज्ञानका संस्थापक प्रमुख अतिथि, प्रशिक्षक तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमको सञ्चालन जीवन विज्ञान युकेकी ट्रष्टी तथा प्रमुख योग प्रशिक्षक सरिता शर्माले गर्नुभएको थियो।