ज्ञानु पंगेनी
मध्यविन्दु, माघ १८ गते । आउँदो फागुन २१ गतेको निर्वाचनको सरगर्मी नवलपुरमा बढ्दैगर्दा यहाँका माझी र मुसहर समुदायमा भने निर्वाचनको खासै चासो देखिएको छैन ।
यहाँका दलहरू निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानदेखि बैठक तथा भेलामा जुटेका छन् । जिल्लाको कावासोती –१५ शेरगञ्जमा रहेको माझी, मुसहर समुदायलाई भने निर्वाचनप्रति कुनै चासो छैन ।
नारायणी नदीमा माछा मारेर दैनिक ज्याला मजदुरी गरेर यहाँका समुदायले जीवन निर्वाह गर्दै आइरहेका छन् । यसअघिको निर्वाचनमा भोट खसालेर विजयी बनेकाहरूले आफूहरूको समस्या समाधानका लागि पहल नगरेको यस समुदायको गुनासो छ ।
मध्यवर्ती क्षेत्रमा पर्ने शेरगञ्जमा यी समुदायको एकसय ६ घरमा, करिव ६ सय हाराहारी जनसङ्ख्या बसोवास छ । निर्वाचनका बेला दलहरूले भोट ब्याङ्कका रुपमा प्रयोग गर्ने गरेको समुदायका अगुवा सन्तबहादुर माझीले बताउनुभयो । आफूहरूको पहिलो माग नै लालपूर्जा रहेको माझीले बताउनुभयो । यसअघि लालपूर्जा दिन्छौ भनेर नै भोट दिएको तर अहिलेसम्म प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो ।
लालपूर्जाविहीन यी समुदायलाई दलहरूको पहिलो आश्वासन लालपुर्जा दिन्छौ भन्ने हुन्छ । अहिलेसम्म उहाँहरूको हातमा लालपूर्जा प्राप्त भएको छैन । यसअघिका चुनावमा पनि लालपुर्जा दिन्छौं, भनेर भोट मागेका दलले अहिलेसम्म लालपुर्जा नदिएको ५५ वर्षकी दुर्गा मुसहरले गुनासो गर्नुभयो । ‘भोट माग्दा लालपुर्जा दिलाउँछौ, बाटोघाटो बनाइदिन्छौं, नारायणी नदीमा तटबन्ध बनाइदिन्छौं भन्छन् । जितेपछि गाउँमै आउँदैनन्, अब त म भोटै दिन्न’ मुसहरले भन्नुभयो ।
कावासोती नगरपालिकाको मुख्यबजार कावासोतीबाट करिब ७ किलोमिटरको दूरीमा रहेको भए पनि यो गाउँको विकास खासै हुन सकेको छैन । गरिब, विपन्न र पिछडिएको समुदाय भएकाले कोही कसैले वास्ता नगरेको गुनासो यहाँका बासिन्दाको छ । स्थानीय दिप्रज्या माझीलाई पनि देशमा निर्वाचन हुन लागेकोमा कुनै वास्ता छैन ।
‘सबै भोट माग्न आउँछन् । गाउँको विकास गर्छु भन्छन् । रोजगारी दिन्छु भन्छन् तर, जितेपछि केही गर्दैनन् । अब म भोट पनि दिन्न’ माझीले भन्नुभयो । २८ वर्षका पृथीराम माझीले यसअघि दुई पटक भोट हालेको बताउनुहुन्छ । यसपटक भोट नहाल्ने मनसाय बनाएको उहाँले सुनाउनुभयो ।
‘हामीले भोट दिएर जिताएर उनीहरु ठुलो मान्छे भएर पैसा कमाए, गाडी चढे, तर हामी त जहाँको त्यहीँ, लालपुर्जा दिन्छु भने, खानेपानी दिन्छु भने, छोराछोरीलाई निःशुल्क पढाइदिन्छु भने । तर केही पनि गरेनन्’ माझीले भन्नुभयो । ‘माछा मार्न पनि दिन्नन्, खेती गरेको सबै जंगली जनावारले खाइदिन्छ, लालपुर्जा नहुँदा क्षतिपूर्ति पनि पाइँदैन् । हामीहरु कति धेरै समस्यामा परेको छौँ, कसले के गरयो । भोट दिएर के हुन्छ र ।’