काठमाडौँ, माघ १८ गते। वरिष्ठ चराविद् डा. हेमसागर बराल हेम–गङ्गा अनुसन्धान तथा संरक्षण सम्मानबाट सम्मानित हुनुभएको छ।
वरिष्ठ चित्रकार र चराविज्ञ कवि हेम पाैड्यालको दोस्रो पुण्यस्मृतिको अवसरमा स्वयम्भुस्थित विज्ञान तथा प्रविधि अध्ययन संस्थान प्राकृतिक विज्ञान सङ्ग्रहालयमा आयोजित कार्यक्रममा चराविद् डा. बराललाई सम्मान प्रदान गरिएको हो।
डा. बराललाई कार्यक्रमका प्रमुख अतिथि केके कर्माचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्राडा. शङ्करप्रसाद खनाल र साहित्यकार गङ्गा कर्माचार्य पौडेलले संयुक्त रूपमा सम्मान गर्नुभएको हो।
चराविज्ञ पौडेलको स्मृतिमा आयोजित कार्यक्रममा उहाँकी धर्मपत्नी गङ्गा कर्माचार्य पौडेल र उहाँको परिवारले पाँच लाख रुपियाँको अक्षयकोष स्थापनाको घोषणा गरेको छ। कोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष यो क्षेत्रका अनुसन्धानकर्तालाई सम्मान र विद्यार्थीलाई छात्रवृत्ति दिने पौडेलले जानकारी दिनुभयो।

आगामी वर्षबाट अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट विद्यार्थीका लागि छात्रवृत्ति र अनुसन्धानकर्तालाई सम्मान गर्ने निर्णय भएको सङ्ग्रहालय प्रमुख डा. इशान गौतमले जानकारी दिनुभयो। उहाँले सङ्ग्रहालयलाई विश्वास गरेर अक्षयकोष स्थापना गर्नुभएकोमा परिवारप्रति आभार व्यक्त गर्नुभयो।
उक्त अवसरमा चराविज्ञ पाैड्यालका २० वटा चित्रकला उहाँकी धर्मपत्नी साहित्यकार पौडेलले सङ्ग्रहालयलाई प्रदान गर्नुभएको छ।
सङ्ग्रहालयले पौडेललाई कदर पत्र प्रदान गर्दै सङ्ग्रहालयले चरा चित्रले सङ्ग्रहालयको प्रदर्शनी कक्षलाई थप समृद्ध बनाउने उल्लेख गरेको छ। पाैड्यालका चरा चित्रले विद्यार्थी, अनुसन्धाता र जनमानसमा पक्षी संरक्षणप्रतिको प्रेरणा र चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ।

कार्यक्रमलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन, प्राडा. शङ्करप्रसाद खनाल, सङ्ग्रहालय प्रमुख डा. इशान गौतम, प्राडा. रामप्रसाद ज्ञवाली, साहित्यकार गङ्गा कर्माचार्य पौडेललगायतले सम्बोधन गर्नुभयो। कार्यक्रममा चराविज्ञ एवम् साहित्यकार पाैड्यालका कविता वाचन गरिएको थियो।
वरिष्ठ चराविज्ञ पाैड्यालको २०८० साल माघ १७ गते निधन भएको हो । डाक्टर रोबर्ट फ्लेमिङको “बर्डस् अफ नेपाल” सँगै जोनाथन लिन्देलद्वारा लिखित “नेपाल एण्ड गोस्पाल अफ द गड” पुस्तकभित्रका सबै चित्र पाैड्यालले बनाउनुभएको थियो ।

तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको प्रकाशन “नेपालका चराहरु” २०३९ पुस्तकभित्रका सबै चित्र, द हिमालयन बर्डस्, चिल्ड्रेन मेमोरी गेम कार्ड २०६३ का सबै चराका चित्र उहाँका सिर्जना हुन्। उहाँका नेपालका चरा, द बर्ड्स अफ गड, द हिमालयन बर्ड्स, मेमोरी कार्ड जस्ता चरासम्बन्धी पुस्तक प्रकाशित छन्। चराविज्ञ पाैड्यालले पछिल्लो समय निवासमा “हेम आर्ट ग्यालरीको स्थापना” गरेर चराका चित्रहरु बनाउनुभएको थियो। यहाँका चित्रकला नेपाल, भारत, जापान, बेल्जियम, जर्मनी, अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, अस्ट्रेलिया, साउदी अरब, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, चीन र रुसमा सङ्ग्रहित छन्।
सहित्यकारसमेत रहनुभएका उहाँको शान्तिको आलोक कविता सङ्ग्रह (२०६२), हेम पाैड्यालका कविता (२०८१) प्रकाशित छन्।