काठमाडौँ, माघ १८ गते । चितवनको फिस्लिङस्थित त्रिशुली नदीमा ‘नवौँ राष्ट्रिय र्याफ्टिङ’ तथा ‘१४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप’ आइतबारदेखि सुरु भएको छ ।
नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घ (एनआरसिए) को आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा सञ्चालित प्रतियोगिताको उद्घाटन नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले गर्नुभयो ।
उद्घाटनको अवसरमा अध्यक्ष श्रेष्ठले टेक्निकल हेड निमबहादुर मगरलाई पेडल हस्तान्तरण गर्नुभयो । मङ्गलबारसम्म चल्ने तीन दिने च्याम्पियनसिपमा देशभरका विभिन्न नदी क्षेत्र र क्लबबाट ५१ जना खेलाडीको सहभागिता रहेको छ ।
यस प्रतियोगितालाई केवल राष्ट्रिय प्रतिस्पर्धाको रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरको छनोटको रूपमा समेत लिइएको छ । यस च्याम्पियनसिपको क्यानोइङ स्लोलामतर्फ उत्कृष्ट पाँच भित्र पर्न सफल खेलाडीलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको छनोटमा समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
एसियाली खेलकुदमा र्याफ्टिङ र क्यानोइङलाई समेत समावेश गरिएको सन्दर्भमा यस प्रतियोगिताले नेपालको तर्फबाट योग्य र सक्षम खेलाडी छनोट गर्ने महत्त्वपूर्ण आधार तय गर्ने विश्वास लिइएको छ।
प्रतियोगितामा क्यानोइङतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: २५, १५ र ७ हजार पाँच सय रुपियाँ पुरस्कार पाउने छन् । यस्तै राफ्टिङतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: ६५, ३५ र २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।