• १८ माघ २०८२, आइतबार

गोरखापत्र संस्थानबाट दुई कर्मचारीको बिदाइ

blog

गोरखापत्र संस्थानबाट सेवानिवृत्त भई आज बिदाइ हुनुभएका भण्डारी र महतो । तस्बिरः केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौँ, माघ १८ गते । गोरखापत्र संस्थानबाट सेवानिवृत्त हुनुभएका दुई जना पत्रकारको आज औपचारिक बिदाइ गरिएको छ । संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारी (अखण्ड) र महाप्रबन्धक लालबहादुर ऐरीले मायाको चिनोसहित बिदाइ गर्नुभयो । 

वि.सं. २०५५ वैशाख १३ गतेदेखि प्राविधिक सेवा, नेपाली प्रुफरिडिङ समूह तह ५ बाट स्थायी नियुक्ति भई हाल पत्रकारिता सेवा नेपाली प्रुफरिडिङ समूह तह ७ को प्रमुख प्रुफरिडिङ अधिकृतबाट माघ १४ गतेदेखि ५८ वर्ष उमेर हद पूरा गरी कृष्णप्रसाद भण्डारी सेवानिवृत्त हुनुभएको हो । भण्डारीले २७ वर्ष ९ महिना १ दिन सेवा गर्नुभएको छ ।

त्यसैगरी लेखा अधिकृत ब्रह्मदेव महतो २०५० चैत २९ गतेदेखि स्थायी नियुक्ति हुनुभएको थियो । आम्दानी तथा बिलिङ शाखामा प्रशासन सेवा, लेखा समूह तह –६ को लेखा अधिकृत पदमा पदाधिकार रही सामान्य प्रशासन शाखा अन्तर्गत दर्ता चलानी उपशाखामा प्रमुख भई काम गर्दै महतो माघ ३ गते ५८ वर्षे उमेर हदका कारण  सेवानिवृत्त हुनुभएको हो । 


सो अवसरमा गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारी (अखण्ड) ले सेवानिवृत्त हुनुभएका कर्मचारीको जीवनको अर्को पाटो सुरु भएको बताउनुभयो । प्रथम पाटो लामो समय संस्थानमा सेवारत रहेर सेवानिवृत्त हुनुभएका कर्मचारीको अर्को पाटो थप सुखद र ऊर्जाशील रहोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभयो । संस्थानबाट सेवानिवृत्त हुनु भए पनि संस्थानका लागि उहाँहरूको साथ, सहयोग र शुभेच्छा अझै रहने विश्वास व्यक्त गर्नुभएको छ । 

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले कर्मचारीहरूको अथक मेहनत र योगदानले गोरखापत्र संस्थान १२५ वर्षसम्म आइपुगेको बताउनुभयो । कर्तव्यनिष्ठता र इमानदारी कर्मचारीका लागि नभई नहुने गुण रहेको भन्दै उहाँले सेवानिवृत्त हुनुभएका दुवै जना कर्मचारीमा त्यो गुण रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । कर्मचारीको परिचय कर्मले दिने भन्दै उहाँले कर्मशील व्यक्ति जहाँ पनि सम्मानित हुने भन्दै बाँकी जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

सेवानिवृत्त हुनुभएका कर्मचारी भण्डारी र महतोले गोरखापत्र संस्थानमा सेवारत रहँदासम्म जीवनको लामो सिकाइ भएको बताउँदै संस्थानको अनवरत सफलताको शुभकामना व्यक्त गर्नुभयो । 


बिदाइ कार्यक्रममा सञ्चालक समितिका सदस्य तथा अनलाइन प्रकाशनका निमित्त सम्पादक लक्की चौधरी, गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक जुनारबाबु बस्नेत, राइजिङ नेपाल दैनिकका निमित्त प्रधानसम्पादक विष्णुप्रसाद गौतम, डिजिटल संयोजक नारदमुनि गौतम, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, राइजिङ नेपालका प्रबन्ध सम्पादक रमेश लम्साल, अर्थपृष्ठ प्रमुख केदार भट्टराई, अर्थ विभाग प्रमुख राजुकुमार महत, कर्मचारी प्रशासन प्रमुख विमला खड्कालगायतले सेवानिवृत्त हुनुभएका कर्मचारीको सेवानिवृत्त जीवन सुखद र सफल रहोस् भन्दै शुभकामना दिनुभयो ।

सो अवसरमा प्रशासन विभाग प्रमुख ओमप्रकाश भुसाल, मधुपर्कका सम्पादक तुलसीहरि कोइरालासहित कर्मचारीहरूको सहभागिता थियो ।