• १८ माघ २०८२, आइतबार

गुल्मीमा १६९५ निर्वाचन प्रहरी खटिए

blog

कार्यक्षेत्र तोक्ने समयमा तम्घासको चिदीचौरमा जम्मा भएका निर्वाचन प्रहरी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास(गुल्मी), माघ १८ गते । गुल्मीमा १६९५ जना निर्वाचन प्रहरी मातहतका क्षेत्रमा खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार १६९५ जना निर्वाचन प्रहरीलाई कार्यक्षेत्रको इलाकामा पठाइएको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय रिडी, पुर्कोट र जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने गरी शनिबार क्षेत्र निर्धारण गरिएको हो । उनीहरूलाई क्षेत्र निर्धारण गरिएको इलाकाबाट नै आइतबारदेखि १० दिनको तालिम प्रदान गर्न सुरु गरिएको सारुले बताउनुभयो । 

गुल्मीमा तीन पटकसम्म आवेदन दिनका लागि जारी गरिएको सूचनाको आधारमा २२१६ जनाले आवेदन दिएका थिए । त्यी मध्ये १०१९ पुरुष र ६७६ जना महिलाको कोटा निर्धारण गरिएको भए पनि महिलाको आवेदन सङ्ख्या कम भएको हो ।  ६७६ जनाको कोटा रहे पनि  मध्ये ४४९ जना महिला मात्रै रहेका छन् । 

निर्वाचन प्रहरीका लागि गुल्मीसँगै अर्घाखाँची, पाल्पा,कास्की, बाग्लुङ, दाङ, बर्दिया, प्युठान, सप्तरीसम्मका रहेको सारुले बताउनुभयो । निर्वाचन प्रहरीमा पूर्व सुरक्षाकर्मी, पूर्व म्यादी रहेका छन् । उनीहरूलाई पहिलो प्राथमिकता दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । निर्वाचन प्रहरीमा १८ वर्ष उमेरदेखि ५४ वर्षसम्मका रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  यसका साथै १७० जना निर्वाचन प्रहरी वैकल्पिक सूचीमा रहेको सारुले बताउनुभयो । 

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जिल्लामा भयरहित वातावरणमा निर्वाचन सफल बनाउनका लागि सुरक्षासमिति सक्षम रहेको बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल दुई  लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् ।

तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । जिल्लाभर १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदान स्थल तोकिएको छ ।