नीराजन परियार
चौमाला (कैलाली), माघ १८ गते । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफ्नो उम्मेदवारी कैलालीका लागि मात्र नभएर समग्र सुदूरपश्चिम र राष्ट्रकै निमित्त भएको बताउनुभएको छ ।
कैलाली–४ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका भट्टले आइतबार अत्तरियामा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालयको उद्घाटनपछि पत्रकारसँग बोल्दै सुदूरपश्चिम प्रदेशमा १२ सिट जित्ने दाबी समेत गर्नुभयो ।
२१ फागुनमा हुने चुनावमा एमालेले सुदूरपश्चिममा रणनीति अनुसार चुनावी परिचालन गरेको भए पनि १२ सिट भने ढुक्कसँग विजयी हासिल गर्ने उहाँको भनाइ छ । कैलाली–४ मा आफ्नो प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिशङ्कर योगी, नवनिर्वाचित राष्ट्रिय सभा सदस्य लीला भण्डारी, सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक, सन्तोष शर्मालगायत नेताहरूको सहभागिता थियो ।
क्षेत्रीय सम्पर्क कार्यालय सञ्चालनमा आएसँगै एमालेले सङ्गठन विस्तार, मतदाता समन्वय र प्रचार–प्रसारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ । यसैबिच केन्द्रीय सदस्य सन्तोष शर्माको संयोजकत्वमा मुख्य निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
समितिको उपसचिवमा भागिरथी विष्ट र सचिवमा गणेश साउद चयन हुनुभएको छ । भट्ट यस क्षेत्रबाट यसअघि दुई पटक सङ्घीय सांसदमा निर्वाचित भई मन्त्री समेत भइसक्नुभएको छ ।