• ८ मंसिर २०८१, शनिबार

उपकारसहितको जीवन स्वर्ग

blog

व्रत, पूजा, उपवास, तीर्थ, जप आदि जुनसुकै काम गर्नुभन्दा पहिले सङ्कल्प गर्नुपर्छ । बिना सङ्कल्पको कामको फल आधा मात्र प्राप्त हुन्छ । कुनै पनि शुभ कर्म अगाडि प्रतिज्ञा सङ्कल्प आवश्यक हुन्छ । सङ्कल्प गर्दा तिथि, बार, नक्षत्र, पक्ष, योग, करण, सूर्य, चन्द्र, बृहस्पति, शुक्र ग्रहहरूको स्थिति, नाम, महिना, ऋतु र कर्म गरिने क्षेत्रको सम्झना, नजिकका स्थानीय प्रतिष्ठित देव, देवी, कुनै मठ, मन्दिर र सङ्कल्प गरिएको समयको बेला सबै उल्लेख गरेर प्रतिज्ञा गरी कर्मको आरम्भ गर्नुपर्छ । कर्ताको उत्पत्ति वंश, अंश, गोत्र, प्रवर आफ्ना पूर्वज, अग्रजको सम्झना जरुरी छ । केही पनि सकिएन भने हरि ॐ तत्सत् भन्नुपर्छ, यो सबैको बीज मन्त्र हो । 

स्नान नगरी, हात मुख नधोई देवस्थल या पूजामा प्रवेश गर्नु हँुदैन । शुद्ध आसनमा पूर्व या उत्तर फर्केर आचमन, प्राणायाम, शुद्ध वस्त्रद्वारा कर्मको थालनी गर्नुपर्छ । बाहिरबाट घरमा प्रवेश वा कोठामा पुग्नुपूर्व हात, गोडा सफा गर्नुपर्छ । सरासर कोठामा प्रवेश वा काममा लाग्नाले पूर्व सञ्चित कर्मको पुण्य नाश हुन्छ । बाहिरको बुद्धिलाई जुत्तामै बसाएर घर, कोठा बाहिरै राखी आफ्नो घर कोठामा पुग्नुपर्छ । बाहिर प्रयोग भएका छल, कपट, व्यापारिक कार्य, खराब बुद्धिको प्रवेश घरमा जान दिनु हुँदैन । सकेसम्म घर बाहिर पनि बुद्धिको दुरुपयोग गर्नु हुन्न, विवेकको प्रयोग घरभित्र, बाहिर सबैतिर गर्नुपर्र्छ । सूर्योदयअघि नै शौचसमेत गरिसक्नु पर्छ ।

पूर्व, उत्तर फर्केर गरिएको सूर्योदय पूर्वको स्नानलाई देव स्नान भनिन्छ, अरू बेलाको स्नान सफाइको क्रम मात्रै हो । मन्त्रोच्चारणसहितको बिहानीको स्नान गङ्गा स्नानसरह हुन्छ । दान गर्दा, अरूलाई केही दिँदा, भोजन गर्दा, पाठ, पूजा, हवनादि कर्म गर्दा दुवै हात घुँडाभित्र पारेर गर्नुपर्छ । शुद्ध आसनमा बसेर आचमन गर्दा गायत्री, दीक्षा मन्त्र गर्दा पनि दुवै हात घुँडाभित्र पार्नुपर्छ । हातमा फूल, माला, दूध, पञ्चामृत लिएको बेला, स्नान गर्दा, शरीरमा तेल लगाइरहेका बखत, सुतेको बेला आशिर्वाद दिने, लिने, अभिवादन, नमन गर्ने काम गर्नु हुँदैन ।

घरमा जुत्ता लगाएर भोजन गर्नु हुन्न, खाट, पलङमा बसेर खाना खानु हुन्न, कुकुर, बिरालाले देख्ने गरी खाना खानु हुन्न, अरूलाई नदिई एक्लै आफ्ना लागि पकाएको र आफैँले पस्केको खान खानु हुन्न, अन्न दोष लाग्छ । खाना खादा, पस्कँदा, अनाज केलाउँदा, कुटानी, पिसानी गर्दा खाद्यान्न खरिद, बिक्री गर्दा, भण्डारण गर्दा, बीउ, बिजन रोप्दा, गोड्दा, बाली भिœयाउँदा, खलो हाल्दा, भकारी भर्दा क्रोध, आवेग, तनाव गर्नुहुन्न । त्यसको प्रभाव खानेलाई पर्छ । हिजोआज अनाज वा कुनै पनि वस्तु विषाक्त भएका कारणमध्ये यी विषहरू पनि छन् । वायुमण्डल अचेल पूरै विषाक्त छ, प्रदूषित छ । शरीर पूरै रोगी छ । विज्ञानले काम गर्न सकेको छैन, कोरोना त्यसै आएको होइन, मानिसलाई सचेत गराउन आएको हो । तामाको भाँडोमा हालेको पानी पिउनु राम्रो हुन्छ तर खाना तामाको थाल, कचौरामा खानु हुँदैन । पूजा आजा गर्दा भने तामाको भाँडा प्रयोग गर्दा शरीरमा सकारात्मक प्रभाव, ऊर्जा सञ्चित हुन्छ । 

ठीक त्यस्तै तामा भाँडाकँुडा स्पर्श गर्दा मानव शरीरमा सकारात्मक प्रभाव पर्छ । तिल नहाली तामाको भाँडामा गाईको दूध, दही हाल्दा मदिरा समान हुन्छ । दूध र नुनिला वस्तु एकै पटक सँगसँगै खानु हुन्न, त्यसैले पहिलेका मानिसहरूले यसमा विचार गर्थे । मासु र दूध पनि एकै पटक खानु हुन्न ।

परिवारकै भए पनि घिउ जुठो खानु हुन्न, खाना खाँदा जहिले पनि हर्षका साथ नमिठै भए पनि सकेसम्म पूर्व फर्केर मिठो मानी खानुपर्छ, धेरै छिटो खाना खानु हुन्न, अल्छी गर्दै हाई गर्दै खाना खानु हुन्न, खाना सँगसँगै धेरै पानी पिउनु हुन्न । खाना खानुभन्दा डेढ दुई घण्टा पहिले वा पछाडि पानी पिउनुपर्छ । खाना खानुपूर्व हात, गोडा, कपडा एकदमै शुद्ध हुनुपर्छ । सुत्ने बेला हात, गोडा ओभानो हुनुपर्छ, शिरानी उत्तर गर्नु हुन्न, उत्तानो परेर छातीमा हात राखेर सुत्नु हुन्न, सुत्दाखेरि पहिले देब्रे कोल्टो त्यसपछि दाहिने कोल्टो परेर हात नथिची गोडा तन्काएर सुत्नुपर्छ । बस्दा कम्मर झुक्ने गरी बस्नु हुन्न, तौल उचाल्दा शरीरको अवस्थालाई ध्यान दिनुपर्छ, । 

बायाँ हातले पानी वा कुनै वस्तु पिउनु, खानु हुन्न । गोडाले उठाएर पानी सार्नु हुन्न, पानी, दूध केही वस्तु अरूको हातबाट लिँदा सिधँै हात हातै लिएर प्रयोग गर्नुहुन्न । पूजामा प्रयोग हुने वस्तुलाई अझ सावधानी अपनाइने गर्नुपर्छ । खाना खाँदा खाँदै उठ्नु हुन्न, उठेपछि त्यही वस्तु खानु हुन्न, खाएर उठेर पानी पिउनु हुन्न । शरीरमा तेल लगाएपछि, मलामी गएर फर्केपछि, सहबास गरेपछि, कपाल खौरेपछि शरीर स्नान नगरी अरू काममा लाग्नु हुँदैन । 

स्त्रीहरूले सिङ्गो कुभिण्डो फोर्नु हुन्न, अन्य सिङ्गो फलहरू कसैले पनि दाँतले टोकेर टुक्रा पार्नु हुन्न । पुरुषहरूले सासले फुकेर बत्ती निभाउनु हुन्न । पानी र नुन नहाली पकाएका कुनै खाने कुरामा पाक् दोष लाग्दैन । व्रत, उपासना, एकभक्तिमा औषधि, दूध, पानी, उखु, फलफूल खानामा बारना हुन्न । यी वस्तु खाएर पूजा वा अन्य काम गर्न दोष लाग्दैन । बेलुकी अँध्यारोमा भोजन गर्नु हुन्न । खाना पकाउनुअघि एकाध मुठी चामल झिकेर दानमा प्रयोग गर्नुपर्छ । आम्दानीको १० प्रतिशत हिस्सा आफूले प्रयोग नगरी अरूलाई दिने गर्नुपर्छ । गोडा धोएर, आचमनी गरेर, नुहाएर बाँकी रहेको पानी पुनः प्रयोग गर्नु हुन्न ।

तेल, घिउ, मह, मोही, दही, चिनी, सख्खर, बजारमा सजाइएका सामान जहिले जोसँग पनि लिन, दिन हुन्छ, कुनै बारना हुँदैन, केवल गुणस्तर हेर्दा हुन्छ । सवारी साधनमा, सार्वजनिक जमिनमा,  डुँगामा, जहाजमा स्पर्श दोष हुन्न । अरूले लगाएका जुुत्ता, कपडा लाउनु हुन्न, हरेक बिहान, बेलुका आफ्ना कुल देव, इष्टदेव, माता, पिता, पितृ, अग्रज, पान्चायन देवलाई सम्झनु पर्छ । हरेक दिन आफ्नो अन्तिम दिन हो भन्ने मनमनै बुझ्नु पर्छ । उद्यमशीलता, रोजगारी सिर्जना, चोखो लगानी, न्यायिक विकास गर्दा म धेरै बाँच्छु भन्ने सम्झनुपर्छ । सेवा, धर्म, कर्म गर्दा, दान, उपहार, समाज सेवा गर्दा म अमर होइन भन्ने सम्झनु पर्छ । अग्रज, पूर्वजले मान्दै आएका धर्मबाट विचलित हुनुहुन्न । 

हरेक दिन सन्ध्या, वन्दना, पाठ, पूजा, तर्पण, हवन, दानपुण्य गर्न सक्दा उत्तम हो । दिनभरको काममा लाग्दा पनि मन शुद्ध हुनुपर्छ, छलछाम गर्नुहुन्न । १४ प्राकृतिक विषयले मानिसको लेखाजोखा गरिरहेका हुन्छन् । मान्छेको वृत्ति जान्नेहरू सूर्य, चन्द्र, अग्नि, जल, डढेलो, भूमि, आफ्नै हृदय, आकाश, यम, दिन, रात, बिहानी, सन्ध्या र धर्म यी १४ तìवले मानिसका हर क्रियाकलाप हेरेका हुन्छन् । यी तìव बिना मानिसको कल्पना सम्भव छैन । उपकार बिनाको जीवन नर्क हो, उपकारसहितको जीवन स्वर्ग हो ।