• १६ माघ २०८२, शुक्रबार

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’को माग

blog

सांकेतिक तस्बिर

काठमाडौँ, माघ १६ गते । बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीकोे दायरामा ल्याउन र आवश्यक मापदण्ड लागु गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले माग गरेको छ ।

 विज्ञप्ति जारी गर्दै एसोसिएसनले चार हप्ताभन्दा बढी प्रयोग गर्न नमिल्ने औषधीजन्य मञ्जनसमेत खुला र लामो समय प्रयोग गर्नाले जनताको स्वास्थ्यमा गम्भीर असर गर्ने उल्लेख गरेको छ ।

एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले एसोसिएसनले २०७९ सालदेखि बजारमा पाइने मञ्जनको गुणस्तरबारे जाँच गर्न र यसको बनावट बारेमा यथाशक्य छानबिन गर्न मन्त्रालय र औषधी व्यवस्था विभागमा धेरै पटक माग गर्दा समेत हालसम्म कुनै पनि मापदण्ड नबनेको बताउनुभयो ।

उहाँका अनुसार एकातिर दैनिक प्रयोग गरिने मञ्जनहरूको गुणस्तरका बारेमा राज्य अनभिज्ञ हुनु र अर्को तिर विभिन्न परिषद् र काउन्सिलमा दर्तावाल दन्त जनशक्तिको सिफारिसमा मात्र बिक्री वितरण गर्नु पर्ने औषधीजन्य मञ्जनहरू खुला सुपर मार्केटमा बिक्री वितरण गरिनुले जनताको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गरिरहेको छ । 

उहाँले भन्नुभयो, “जनताको मुख स्वास्थ्य र समग्र स्वास्थ्यप्रति राज्यको उपस्थिति र चासोमा गम्भीर देखिएन ।”