लीलाधर वली
घोराही, माघ १६ गते । दाङको देउखुरीमा दोलई खोलामा पुल निर्माणको काम अघि बढेको छ । राप्ती गाउँपालिका-४, मौरीघाटस्थित श्रीनारायण चोकदेखि वडा ९ को देवीकोट जोड्ने श्रीनारायण–देवीकोट सडकखण्डअन्तर्गत दोलई खोलामा निर्माण हुन थालेको पुलको एक महिनामा करिब २५ प्रतिशत काम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकारको पाँच करोड २६ लाख ७३ हजार चार सय ५३ रुपियाँमा २०८४ जेठको १४ गते पुल निर्माणको काम सक्ने गरी २०८२ मङ्सिर १४ गते एम-एस शारदा श्री निर्माण सेवा लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।
मङ्सिरमा सम्झौता भएर पुसदेखि निर्माण कम्पनीले पुल निर्माणको काम सुरु गरेको थियो । करिव एक महिनामै पुलको फाउनडेसनको काम सम्पन्न गरेको सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी एवं इन्जिनियर सागर मरासिनीले जानकारी दिनुभएको छ । समयमै पुल निर्माणको काम हुन नसकिरहेको समयमा दोलाई खोलामा भने पुल निर्माणको प्रगति सन्तोषजनक रहेको बताउनुभयो ।
४० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल चालु आर्थिक वर्षभित्र सक्ने गरी काम भइरहेको पुल निर्माणको जिम्मा पाएको एम-एस शारदा श्री निर्माण सेवा लिमिटेडका प्रतिनिधि नारायण गिरीले बताउनुभयो । प्रतिनिधि गिरीका अनुसार तीन वटा पिलरमा दुई वटा स्पान हुने पुलको जमिनमुनि निर्माण गर्नुपर्ने काम सकिएको छ ।
२०८४ जेठमा सक्नुपर्ने पुल निर्माणको काम २०८३ जेठ महिनाभित्र सक्ने गरी काम भइरहेको भन्दै निर्माण कम्पनीका प्रतिनिधि गिरीले भन्नुभयो, ‘‘१८ महिनामा पुल निर्माणको काम सक्ने गरी गएको मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणको काम चालु आर्थिक वर्षका जेठसम्म सक्ने गरि काम भइरहेको छ ।’’ पुल निर्माणको काम सकिएपछि राप्ती गाउँपालिकाको दुर्गम बस्ती देवीकोटका स्थानीयलाई गाउँपालिकासँगै भालुवाङ बजार आउन–जान सहजता हुने छ । खोलामा पुल नहुँदा वर्षाको समयमा बर्सेनि स्थानीयले दुःख पाउने गरेका छन् ।