• १३ माघ २०८२, मङ्गलबार

भ्रमपूर्ण विज्ञापन पत्ता लगाएर उजुरी गर्नुहोस् : अध्यक्ष हुमागाईं

blog

गजेन्द्र गुरुङ
खजुरा, माघ १३ गते ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले पछिल्ला समयमा सामाजिक सञ्जाल लगायतका प्लेटफर्मबाट भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रसारण गरेर उपभोक्ताहरुलाई झुक्याउने, ठगी गर्नेजस्ता कार्यहरु बढिरहेको गुनासाहरु सुन्नमा आएको भन्दै त्यस्ता भ्रमपूर्ण विज्ञापनहरु पत्ता लगाएर बोर्डमा उजुरी गर्न उपभोक्ताहरुलाई आग्रह गर्नुभएको छ ।

विज्ञापन बोर्डको आयोजनामा पहिलोपटक नेपालगन्जमा सोमबार आयोजना गरिएको “विज्ञापन नियमनमा सरोकारवालाको भूमिका” विषयक अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रममा यस्तो बताउनुभएको हो ।

“विज्ञापन बोर्ड नियामक निकाय मात्र नभएर कार्यान्वय गर्ने निकाय र अर्धन्यायिक निकाय पनि हो, आम उपभोक्ताहरु भ्रामक विज्ञापनबाट झुक्किनु वा ठगिनु कार्य गलत हो, तपाईँहरुलाई यदि कुनै भ्रामक विज्ञापनबाट ठगिनुभएको छ भने लिखित उजुरी गर्नुहोस् ।,” उहाँले भन्नुभयो, “कुनै पनि उपभोक्ताहरु कुनै पनि किसिमका भ्रामक विज्ञापनबाट ठगिनु हुँदैन, त्यसो भएको खण्डमा हामी कानुनअनुसार कारबाही गर्छौँ ।”

उहाँले बोर्डले भ्रमपूर्ण विज्ञापनबाट उपभोक्तालाई जोगाउन, जनताको स्वास्थ्यको रक्षा गर्न, महिला बालबालिका लगायतलाई जोखिमबाट मुक्त राख्न, स्वच्छ प्रतिस्पर्धा कायम गराउन, सामाजिक तथा नैतिक मर्यादा कायम गराउन र आमसञ्चारका माध्यम तथा व्यवसायिक घरानाप्रति विश्वास बनाइराख्न विज्ञापन नियमनको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले विज्ञापन नियमनका लागि उपभोक्ता, विज्ञपानदाता, सञ्चारमाध्यम, तीनै तहका सरकार लगायतका सरोकारवालाको बराबर भूमिका हुने भन्दै सबैले सहयोग गर्नुपर्ने बताउँदै विज्ञापन नियमनका लागि स्थानीय तह तथा प्रदेश सरकारको उत्तिकै जिम्मेवारी र जवाफदेहिता हुने उल्लेख गर्नुभयो । स्थानीय र प्रदेश सरकारलाई पनि अनुगमन गर्नेदेखि लिएर जरिवाना र कारबाही गर्नेसम्मका अधिकार रहेको स्पष्ट पार्नुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता ज्योती बानियाँले उपभोक्ताको परिभाषा र आधारभूत अवधारणा, कानुनी र संवैधानिक व्यवस्था, नियमनकारी चासो र चुनौती, विज्ञापन नियमन ऐन, विज्ञापन गर्न निषेध गरिएका विषयहरु, स्थानीय बजार र उद्योग व्यवस्थापन, होडिङ बोर्डसम्बन्धी व्यवस्था, अनलाइन र सामाजिक सञ्जालका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

उहाँले गलत र भ्रमपूर्ण विज्ञापनबाट जोगिनका लागि उपभोक्ता स्वयं पनि सचेत हुनुपर्ने भन्दै विशेषगरी विज्ञापन बोर्डले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुनभयो । उहाँले बोर्डले वाणिज्य विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, उपभोक्ता अदालत लगायतका अन्य नियमनकारी निकायसँग छलफल, समन्वय गर्नुपर्ने बताउनुभयो । बोर्डलाई सोसल मिडिया र न्युरोसाइन्समा आधारित विज्ञापनलाई प्रभावकारी रुपमा नियमन गर्न, उपभोक्ता अधिकारकर्मी र नागरिक समाजको निगरानी बढाउन, उपभोक्ता अदालतको सक्रियता र छिटो छरितो क्षतिपूर्ति प्रक्रिया अगाडि बढाउन र सचेतना अभियानलाई डिजिटल माध्यममा लैजान समेत सुझाव दिुनभयो ।

बाँकेका प्रजिअ दिलकुमार तामाङले अर्थतन्त्रको आकारको बढोत्तरी, वस्तु सेवाको बढोत्तरीसँगै तीव्र रुपमा भएको प्रविधिको विकासले विज्ञापनहरुले जबरजस्ती राज गरिरहेको बताउँदै आम उपभोक्तालाई गलत प्रचारप्रसारबाट जोगिनका लागि निगरानी तथा नियमन जरुरी रहेको बताउनुभयो ।

पछिल्लो समयमा अनलाइन र डिजिटल माध्यमबाट हुने गलत विज्ञापनबाट हुने व्यापारबाट उपभोक्ताहरु बढी ठगिएका घटनाहरु देखिएको भन्दै यस्ता ठगी कार्यलाई नियन्त्रण गर्नका लागि नियमनकारी निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै त्यसता संस्थाहरुलाई जिम्मेवारी बनाउने काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री)ले विज्ञापन क्षेत्रलाई समेटेर उपभोक्ता हितसम्बन्धी जानकारी दिन बोर्डले सरोकारवालासँग नीतिगत र कानुनी छलफल गर्दै सुझाव सङ्कलन गर्नका लािग कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले बाँकेका कार्यालय प्रमुखहरु र स्थानीयत तहका जनप्रतिनिधिबिच पनि छलफल कार्यक्रम गरिने जानकारी दिनुभयो ।