• १३ माघ २०८२, मङ्गलबार

विद्युतीय चुरोट भेप

भरिया समातिन्छन् मुख्य कारोबारी भेटिन्नन्

blog

फाइल तस्बिर

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), माघ १३ गते । गत पुसको २८ गते चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरला नाकाबाट लुकाइछिपाई लैजान खोजिएको १६ हजार थान विद्युतीय चुरोट भेप बरामद भएको थियो । 

नेपाल–चीन जोड्ने लिजी–नेचुङ (कोरला) नाकास्थित दसगजा क्षेत्रमा सामान लिन गएको कन्टेनरमा केही अन्य घरायसी प्रयोजनमा प्रयोग हुने सामग्रीले छोपेर राखिएको अवस्थामा विद्युतीय चुरोट बोकेको कन्टेनरसहित चालक पक्राउ परे । 

विशेष सुराकीका आधारमा मुस्ताङ भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङबाट खटिएको टोलीले ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा लोड गरिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–५ का पेमा लामालाई नियन्त्रणमा लिएको छ । 

मुस्ताङ भन्सार कार्यालयले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङमा थुनामा राखेका लामाबाट समेत हालसम्म भेपका मालिकको पहिचान हुन सकेको छैन । भन्सार कार्यालयले कन्टेनरसहित भेप जफत गरेपछि प्रारम्भिक अनुसन्धान गरी २५ दिनभित्र मुद्दा अगाडि बढाउन मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहलाई अनुसन्धान अधिकृत तोकेको छ । भन्सार कार्यालयले चालक लामालाई दुई करोड २४ लाखको मुद्दा दर्ता गर्ने तयारी गरेको छ । चालक र भरियाले धरौटी मागेको रकम बुझाउन नसके जेल चलान गरिन्छ । 

कन्टेनरका मालिका लामाले प्रारम्भिक बयानमा सामान लिन भनेर नाकासम्म पुगेको भए पनि आफू मुख्य कारोबारी नभएको बयान दिएका छन् । ढुवानीसहित आकर्षक पारिश्रमिकको लोभले नेपाली कन्टेनर र मालवाहक ट्र«कका चालक भेप कारोबारीको फन्दामा पर्ने गरेको देखिन्छ । 

भन्सार कार्यालय मुस्ताङका प्रमुख रमेश खड्काले अनुसन्धानको अवधिमा तस्करीमा संलग्नको पहिचान नभए बरामदका आधारमा बिगोसहित मुद्दा दर्ता गर्ने बताउनुभयो । भन्सार प्रमुख भन्नुहुन्छ, “भेप पठाउने र किन्नेको कनेक्सन खोज्ने प्रयासमा छौँ, तस्करी रोक्न नाका क्षेत्रमा कडाइ गरिएको छ ।” 

तिब्बतबाट अवैध रूपमा भित्रिने भेपको बजार नेपालभन्दा भारतमा रहेको प्रारम्भिक अनुमान गरिएको भन्सार प्रमुख खड्काले बताउनुभयो । भेप तस्करी प्रकरणमा चिनियाँ, नेपाली वा तेस्रो राष्ट्र«का कारोबारी संलग्न हुन सक्ने अनुमान गरिए पनि पहिचान नहुँदा २०८१ साल पुसमा समेत मुस्ताङबाट १९ हजार थान भेप बरामद गरिएको थियो । पक्राउ परेकाले आफू भरिया मात्र भएको दाबी गरेकाले मुख्य कारोबारीसम्म अनुसन्धान नपुगी टुङ्गिएको थियो । नाकाबाट चिनियाँ भन्सार कार्यालयमा मुस्ताङबाहेक अन्य जिल्लाका चालक प्रवेश गर्न पाउँदैनन् । 

चिनियाँ भन्सारबाट कोरला नाकासम्म कसरी भित्रियो, त्यहाँसम्म कसले ल्याउन सघाएको भन्नेबारेसमेत अनुसन्धान भइरहेको अवस्थामा दुई पटक ठुलो परिणाममा भेप तस्करी गर्नेको जालो कहाँसम्म रहेको भन्ने अनुसन्धान गर्न कठिन देखिन्छ । चिनियाँ बजारमा भेप सस्तोमा पाइने भएकाले तस्करी गरी नेपाल हुँदै तेस्रो बजारसम्म लैजाने गरिन्छ । 

१८६ किलोमिटर दुरीको कोरला सडकबाट छिमेकी जिल्ला म्याग्दी हुँदै राष्ट्रि«य राजमार्गमा जोडिन्छ । भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दुरी रहेको छ । कोरला नाकाभन्दाअगाडि चिनसँग जोडिएको अर्को तातोपानी, रसुवा भन्सार कार्यालयबाट भित्रिने अवैध विद्युतीय चुरोट भित्रिने गरेको थियो । चिनियाँ नाकाबाट अवैध गतिविधिले नाकाको निरन्तर सञ्चालनमा समेत समस्या हुने गरेको छ ।