राजन रावत
हुम्ला, माघ १३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि उम्मेदवारको निर्वाचन खर्च सीमा निर्धारण गरिएको छ । निर्वाचन आयोगले हिमाली जिल्ला हुम्लासहित देशभरका जिल्लाका लागि निर्वाचन खर्चको हद तोकेको हो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा उम्मेदवारले निर्वाचनका लागि अधिकतम ३३ लाख रुपियाँसम्म खर्च गर्न पाउने मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिनुभयो ।
आयोगले तोकेको खर्च सीमाभित्र रहेर मात्र निर्वाचन खर्च गर्नुपर्ने उहाँले बताउनुभयो । हुम्ला जिल्ला एक निर्वाचन क्षेत्र रहेको र यहाँ सात जना उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा रहेका कारण सोही परिधिभित्र खर्च व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हुम्ला जिल्लामा ३४ हजार ३७२ जना मतदाता छन् । तीमध्ये १८ हजार २१ पुरुष र १६ हजार ३५१ महिला मतदाता छन् । अघिल्लो निर्वाचनको तुलनामा यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक हजार १९४ मतदाता सङ्ख्या वृद्धि भएको छ ।
हुम्ला जिल्लामा ६० वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्र कायम गरिएका छन् । यसअघि २०७९ सालको निर्वाचनमा जिल्लामा ५८ मतदान स्थल र ६० वटा मतदान केन्द्र रहेका थिए । त्यतिबेला मतदाता सङ्ख्या ३३ हजार ३०८ रहेको थियो ।
यसैबिच जिल्ला सुरक्षा समितिले २७ वटा मतदान स्थललाई अति संवेदनशील घोषणा गरिसकेको छ । समितिको निर्णयअनुसार २१ वटा संवेदनशील र १० वटा सामान्य मतदान स्थल छन् ।