• १२ माघ २०८२, सोमबार

टाइगर कप : एपिएफका दुबै टोली विजयी

blog

टाइगर कपको महिलातर्फ एपिएफ र त्रिभुवन आर्मीका खेलाडी प्रतिस्पर्धा गर्दै । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), माघ १२ गते । टाइगर कप भलिबलको सोमबार भएका खेलमा महिला र पुरुष दुबैतर्फ सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ । 

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा महिलातर्फ भएको खेलमा त्रिभुवन आर्मी क्लब एपिएफसँग ३–० को सोझो सेटमा पराजित भयो । महिलातर्फ त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो हार व्यहोरेको छ ।

हारसँगै आर्मी टाइगर कपको फाइनल दौडबाट बाहिरिएको हो । लिगको अङ्कका आधारमा महिलातर्फ पहिलो र दोस्रो हुनेले फाइनल खेल्नेछन् ।  

आर्मी पहिलो खेलमा न्यु डायमन्ड स्पोर्टस् क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थिया।आर्मीले अन्तिम खेल मंगलबार थाइल्यान्ड क्विन्ससँग औपचारिकताको लागि मात्र खेल्नेछ ।

सोमबारको आर्मीविरुद्ध एपिएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले जितेको थियो । पहिलो खेलमा थाइल्यान्ड क्विन्सलाई पाँचौं सेटमा हराएको एपिएफ दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्टस् क्लबसँग पराजित भएको थियो । 

टाइगर कप भलिबलको पुरुषतर्फ भएको सोमबारै खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले माल्दिभ्स भलिबल एसोसिएसनलाई हराएको छ । एपिएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

एपिएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले जित्यो । एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने भलिबलमा च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।