• १२ माघ २०८२, सोमबार

राष्ट्रिय लिगमा मनाङको पहिलो जित

blog

बल खोस्ने प्रयास गर्दै मनाङ र काँक्रे बिहारका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, माघ १२ गते । मनाङ मर्स्याङदी क्लबले एन्फा राष्ट्रिय लिगमा पहिलो जित निकालेको छ ।

सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा मनाङले काँक्रे बिहार क्लबलाई ५–१ गोलले हरायो ।

चार खेलपछि पहिलो जित निकाल्ने क्रममा मनाङका लागि गिडेयोन नाहले दुई तथा सुरेश कुमाल, अनिल कुमार र नवराज गुरुङले एक एक गोल गर्नुभयो ।

काँक्रे बिहारका लागि सन्दीप देउवाले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै मनाङले तीन अङ्क बनाएको छ । लगातार चौथो हार खेपेको काँक्रे बिहारले अङ्कको खाता खोल्न सकेको छैन । 

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।