• १० माघ २०८२, शनिबार

अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको प्रक्रियामा पाल्पाका विद्यालय

blog

आनन्द निकेतनमा आईएसओको लोगो हस्तान्तरण गरिँदै । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), माघ १० गते ।
पाल्पाका विद्यालय अन्तर्राष्ट्रियस्तरको गुणस्तर कायम गर्न लागि परेका छन् । अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आइएसओ) बाट गुणस्तर प्रमाणिकरण गर्नका लागि सक्रिय भएका हुन् ।

ग्लोबल क्वालिटी काउन्सिल नेपालको सजिकरणमा (आईएसओ) गुणस्तर प्रमाणिकरणका लागि सक्रियता देखाएका छन् । जिल्लाका दुई संस्थागत र तीन सामुदायिक गरी पाँच विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअन्तर्गतका २५ प्रतिशत सूचक पूरा गर्दै अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ) लोगो लिएका छन् । तानसेन नगरपालिकाको दमकडा मावि, रामपुर नगरपालिकाको गंगा मावि, रामतुलसी मावि,  रामपुर आवासीय मावि र आनन्द निकेतन विद्याश्रमले आईएसओ लोगो प्राप्त गरेका हुन् ।

ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले पाल्पा जिल्लामा ११ वटा विद्यालय र दुई वटा पालिकाहरु अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको प्रक्रियामा रहेको जानकारी दिनुभयो । गुणस्तर प्रमाणिकरण प्रक्रियाअन्तर्गत विद्यालयको व्यवस्थापनका अन्तर्राष्ट्रिय विधि अनुसार सञ्चालन गरिने र गुणस्तर कायम राख्न अन्तर्राष्ट्रियस्तरको अभ्यास विद्यालयमा भित्रयाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पहिलो चरणमा २५ प्रतिशत काम सकिए पश्चात लोगो हस्तान्तरण गर्ने, दोस्रो चरणमा शैक्षिक गतिविधिमा सुधार, तेस्रो चरणमा समाज संग जोड्ने र अन्तिम चरणमा नजिजासँग जोडेर प्रमाणिकरणको प्रक्रिया पुरा गर्ने छौं ।’’

काउन्सिलले विषयगत विज्ञ र गुणस्तर विज्ञ मार्फत विद्यालयमा आवश्यक सहजिकरण प्रदान गरिने छ । शुक्रबार आनन्द निकेतन विद्याश्रममा भएको लोगो हस्तान्तरण कार्यक्रममा बोल्दै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले आइएसओ प्रमाणिकरण कार्यक्रमले विद्यालयको गुणस्तर सुधार मात्र नभै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माणमा महत्त्वपूर्ण टेवा दिने बताउनुभयो ।

शैक्षिक वातावरण निर्माणसँगै सम्मुन्नत समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाको तर्फ बाट प्रमाणिकरणका लागि आवश्यक साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

शिक्षा अधिकृत विकल काफ्लेले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गर्नका लागि सबैको साथ र सक्रियताको आवश्यकता औंल्याउनुभयो । गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले लोगो प्राप्तिले विद्यालयहरुलाई थप उत्साहित बनाएको बताउनुभयो । प्याबसनका केन्द्रीय सदस्य सूर्यप्रसाद घिमिरेले रामपुरलाई शैक्षिक हबको विकास गर्नका लागि उत्प्रेरित गरेको बताउनुभयो । आनन्द निकेतन विद्याश्रममा ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले व्यवस्थापन समितिका अध्यक्ष सुकदेव पोखरेल र प्रधानाध्यापक गोविन्द प्रसाद पौडेललाई लोगो हस्तान्तरण गर्नुभएको थियो ।