• ९ माघ २०८२, शुक्रबार

सल्यानमा दुई जनाको उम्मेदवारी फिर्ता

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय, सल्यान ।

शंकर केसी

शारदा (सल्यान), माघ ९ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सल्यानबाट दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिङे कामीले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो । 

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारी युवराज कार्कीले जानकारी दिनुभयो । 

प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका राईले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार गुलावजङ्ग शाहलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । 

उहाँले आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई ध्यानमा राख्दै विभिन्न राजनीतिक व्यक्तित्व, समाजसेवी तथा बुद्धिजीवीसँग व्यापक परामर्श गरेपछि उक्त निर्णय लिएको स्पष्ट पार्नुभएको छ ।

उहाँले नेकपा (एमाले) का उम्मेदवार गुलावजङ शाह कर्णाली प्रदेश अध्यक्षजस्तो प्रभावशाली जिम्मेवारीमा रही केन्द्रिय राजनीतिसँग सुदृढ सम्पर्क सम्बन्ध बनाएका अनुभवी नेता भएको उल्लेख गर्नुभएको छ । साथै, शाह यसअघि प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भई महत्वपूर्ण संसदीय जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेको, सल्यान जिल्लामा लामो समयदेखि जनताको सेवामा प्रतिबद्ध रही विकास निर्माणको क्षेत्रमा प्रभावकारी भूमिका खेल्नसक्ने योग्यता र क्षमता भएको व्यक्तित्व रहेको भन्दै राईले उम्मेदवारी फिर्ता लिँदै शाहलाई समर्थन गर्नुभएको हो । 

राईले २०४८ सालदेखि निरन्तर २७ वर्षसम्म नेकपा (एमाले) पार्टी निर्माणमा सक्रिय रूपमा संलग्न भई महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै आफूले रगत र पसिना बगाएको पार्टी एमालेमै पुनः फर्किएको घोषणा पनि गर्नुभएको छ । आफू एमालेकै उत्पादन भएको उल्लेख गर्दै राइले स्पष्ट दृष्टिकोण र देशलाई सही मार्गनिर्देशन गर्न सक्ने मूल पार्टीमा नै फर्किएको उल्लेख गर्नुभयो । 

यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचन जिल्ला कमिटी सदस्य अभयकुमार श्रेष्ठ पनि एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) ले राष्ट्रियता, जनजीविकाको सवालमा लिएको अडानले गर्दा नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी गर्न खोजिएको प्रस्ट देखिएको भन्दै उहाँले विषम परिस्थितीमा नेकपा (एमाले) लाई साथ, सहयोग गर्नु कर्तव्य रहेको भन्दै एमालेमा आवद्ध हुने जनाउनुभएको छ ।