अमरराज नहर्की
तनहुँ, माघ ८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लाका दुई निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको पाइएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको योग्यतामाथि प्रश्न उठाउँदै दाबी विरोध वा उजुरी दिने निर्धारित समयभित्र कसैको पनि उजुरी दर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका दुई निर्वाचन क्षेत्रबाट कुल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये तनहुँ क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै १६ जनाको उम्मेदवारी परेको छ, जसमा १३ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि र तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन् । त्यस्तै, तनहुँ क्षेत्र नम्बर २ मा १२ जना उम्मेदवारले चुनावी मैदानमा उत्रिने गरी मनोनयन दर्ता गराएका छन् ।
कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेसँगै दर्ता भएका सबै २८ जनाको उम्मेदवारी कायम रहने देखिएको छ । निर्वाचन कार्यालयले अब उम्मेदवारको नामावली प्रकाशन गर्ने, नाम फिर्ता लिन चाहनेलाई समय दिने र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । फागुन २१ गते हुने मतदानका लागि जिल्लामा चुनावी सरगर्मी बढेको छ भने सुरक्षा र व्यवस्थापकीय तयारीलाई पनि तीव्रता दिइएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले) की भगवती न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस अघिको निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनु भएका तत्कालीन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि भएको उपनिर्वाचनमा रास्वपा वाग्लेले कांग्रेसका भट्टराईलाई पराजित गराउनु भएको थियो । भट्टराई हारको बदलता लिने सोचका साथ आगाडि बढ्नु भएको छ भने वाग्ले विराशत जोगाउन चुनावी प्रचारमा जुट्नु भएको छ ।
यस्तै, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शंकर भण्डारी, नेकपा (एमाले) का केदार सिग्देल र रास्वपाका श्रीराम न्यौपाने लगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस अघि भण्डारी नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई पराजित गर्नु भएकाले जीतलाई निरन्तरता दिई पुन सांसद बन्न दौडमा लाग्नुभएको छ । गण्डकी प्रदेश सभा सदस्यमा पराजित हुनु भएका सिग्देल जीत हासिल गरेर प्रतिनिधि सभा सदस्य बन्न प्रचार प्रचारमा जुट्नु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उजुरी नपरेपछि अब उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन लगायतका प्रक्रियाहरू अगाडि बढ्नेछन् । फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा सुरक्षा प्रबन्ध र अन्य तयारीलाई समेत तीव्रता दिइएको छ ।