• १८ असार २०८१, मङ्गलबार

वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण

blog

काठमाडौँ,  असार ३० गते । देशभित्र रोजगारीको अवसरको यथोचित व्यवस्था हुन नसक्दा नेपाली युवाले विदेशको यात्रा गर्नुपर्ने र जोखिमपूर्ण काम गर्नुपर्ने अवस्थामा कुनै पनि परिवर्तन नभएको भन्दै राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले रोजगारीको खोजीमा विदेशिएका युवालाई समान सुविधा र प्रबन्ध हुन नसकेको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राख्नुभयो । मानिस रहरले नभई बाध्यताका कारण विदेशिएको भन्दै उहाँले सरकार तथा सरकारी निकायले विभेद गर्न नहुने बताउनुभयो ।

विदेशमा श्रमिकको मृत्यु हुँदा शव ल्याउनसमेत ठूलो समस्या रहेको भन्दै उहाँले सम्बन्धित परिवारको मानवीय पक्षलाई ध्यान नदिई बिचौलियाले अनेक दुःख दिएकाले त्यसको नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले पछिल्ला दिनमा अविरल वर्षाका कारण जाजरकोटका विभिन्न स्थानमा बाढी पहिराले जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँले मुलुकमा देखिन सक्ने आर्थिक सङ्कटको समाधानका लागि सरकार, विपक्षी र सम्बद्ध सबै पक्षको साझा सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।