• १३ पुस २०८१, शनिबार

साँझका पहेँला घाममा हिँड्नु हुन्न... !

blog

साँझपख घामको चर्कोपन  घट्दै जान्थ्यो । सूर्यास्तपछिको पश्चिमी क्षितिज एकदमै अर्कै खालको हुन्थ्यो । हुनत क्षितिज अहिले पनि त्यस्तै हुन्छ तर भर्खर किशोरावस्थातिर पदार्पण गरेका हामीलाई क्षितिजको त्यो दृश्य एकदम राम्रो लाग्थ्यो । हेर्न असाध्यै उत्सुक हुन्थ्यौँ । मौका मिल्दा हेथ्र्याैँ र आनन्दित हुन्थ्यौँ पनि तर अहिले न त्यस्तो लाग्छ, न हेर्दा त्यस्तै आनन्द आउँछ । 

हाम्रो आँगनबाट क्षितिजको त्यो दृश्य देख्न पाइन्नथ्यो । त्यो दृश्य हेर्न यताउता लाग्नुपथ्र्यो । त्यसैले हामी साँझको त्यो समयमा अलिपर गएर जान र हेरेर रमाउन खोज्थ्यौँ तर घरमा हुने बुबैको उपस्थिति र ‘साँझका पहेँला घाममा हिँड्नु हुन्न’ भनेर गर्ने निषेधले त्यसो हुन पाउन्नथ्यो । त्यसैले मौका मिल्दा मिल्दा मात्र हेर्न पाइन्थ्यो । 

निषेधकै कारण साँझका बेला निस्कन नपाइने हुनाले सजिलै त्यो रमाइलो हेर्न पाउँन्नथ्यौँ । त्यसका लागि बुबैका आँखा छल्नुपथ्र्यो  । छल्न पाउँदा भने घरबाट निस्केर डाँडाको पाटातिर जान्थ्यौँ । त्यहाँबाट परपरसम्मको क्षितिज, गाउँबस्तीसमेत देख्न सकिन्थ्यो । गाउँबस्ती त अरू बेला पनि देखिन्थे तर त्यो साँझपखको क्षितिज कहाँ देख्न पाउनु ! साँझको क्षितिजको पहेँलो, रातोको सुन्दरता नै हाम्रो आकर्षण हुन्थ्यो । त्यही सुन्दरताले मोहनी लगाएको थियो हामीलाई । 

त्यतिबेला हाम्रो रेखदेखको जिम्मेवारी प्रायः बुबैमा हुन्थ्यो । एक्लै घरका सारा कुराको चासो राख्नु, चार पाँच जना केटाकेटीको हेरविचार पु¥याउनु कम मुस्किलको कुरो थिएन तर चल्थ्यो । हामी कोहोमाको भने जतिबेला पनि आफ्नै सुर हुन्थ्यो । त्यसैले साँझका बेला हामीलाई घरआँगन वरिपरि नदेख्नेबित्तिकै उहाँलाई छटपटी हुन्थ्यो । बेला मौकामा पिटपाट पार्नुपर्नाको कारण पनि त्यही जिम्मेवारी नै हुँदो हो । 

हामी कोहोमाले गर्न सक्ने, गर्ने काम नहुने होइनन्, हुन्थे । सक्ने, मिल्ने काम गथ्र्योँ पनि । घरमै पनि भुल्थ्यौँ तर हाम्रा आफ्ना पनि रहर हुन्थे । रहर मेट्न हिँड्नु अस्वाभाविक पनि हुन्नथ्यो भने बुबैको पनि जिम्मेवारी, हप्काउने, गाली गर्ने, पिट्ने अधिकार हुन्थ्यो । त्यसैले त्यो साँझका बेला हामीलाई घरमा नदेख्ने बित्तिकै कोहोमा कता गए फेरि ! भन्दै खोज्न र नभेटेपछि ए ठूले ! ए साने ! ए बिसे... भन्दै चिच्याउन थाल्नुहुन्थ्यो ।

त्यो आवाज सुन्नासाथ हामी दगुर्दै घरतिर आउँथ्यौँ । आउँदा हाम्रा अनुहार डरले रुझेका बिराला हुन्थे । हामी लुसुक्कभित्र पसी पानी सारेर गोडा धुन लाग्थ्यौँ । बुबै चिच्याउनुहुन्थ्यो– ‘कहाँ म¥याथ्यौ यत्राबेर ?’

बुबै स्वभावले अलि कडा हुनुहुन्थ्यो । त्यसैले उहाँका सामु हाम्रो बोली फुट्न मुस्किल हुन्थ्यो । हप्काउन र उस्तै परे पट्टापट लाउन पनि बेर नलाउने हुनाले दाइहरू उत्तर नदिएर चुपचाप बस्नुहुन्थ्यो । म सुस्त अघि सर्थें र भन्थेँ– “त्यहीँ गोठपर्तिर गएको ।” 

त्यतिबेला त्यसो भन्दा सोचेर, बुद्धि लगाएर, ढाँट्न खोजेर भनिएको हुन्नथ्यो । त्यस्तो ढाँट छल गर्ने न बानी थियो, न ज्ञान । भन्दा प्रायः त्यस्तै कुरा भनिन्थ्यो, जो यथार्थको नजिक हुन्थ्यो । डाँडाको पाटो पनि गोठपर्तिरै पथ्र्यो  । पर्तिर त काफल, टौवा, चर्पी, बारीका पाटा लगायत धेरै कुरा पर्थें । नजिक र टाढाका मात्र कुरा भए, तैपनि त्यो भनाइले हप्काइ खुवाए पनि पिटाइबाट जोगाउँथ्यो ।

“साँझका पहेँला घाममा यसरी हिँड्न हुन्छ ! अब फेरि हिँड हो त !,” अन्तिम चेतावनी हुन्थ्यो उहाँको । हामी आआफ्नै सुरमा लाग्थ्यौँ । समय त्यत्तिकै जान्थ्यो । भित्र मझेरीमा ढिब्री र बाहिर तुलसीको मैरामा तेल–बत्ती बल्थे । घरका सदस्यहरू जम्मा हुँदै जान्थे । खाना खाने र सुत्ने बेला हुन्थ्यो तर मनमा भने त्यही भनाइ र त्यसको रहस्यबारेको कौतूहल रहिरहन्थ्यो– “साँझका पहेँला घाममा यसरी हिँड्न हुन्छ ?”

बेलाबेलामा आमाले पनि भन्नुहुन्थ्यो– “साँझका पहेँला घाममा हिँड्न हुन्न है ।” 

हामीलाई भने बिहानको पूर्वतिरको र साँझको पश्चिमतिरको उज्यालो हेर्न असाध्यै रमाइलो लाग्थ्यो । हामी केटाकेटीको सबेरै उठ्ने, उठेर बाहिर जाने आवश्यकता, प्रयोजन हुन्नथ्यो । अबेर उठ्दा बिहानको रमाइलो गइसकेको हुन्थ्यो, साँझको भने मौका मिलाउन सके हेर्न पाइन्थ्यो । 

अहिले उमेरले ७० तिर पुग्दा पनि मेरा मनमा त्यो उज्यालोको, त्यो भनाइको धेरैथोरै प्रभाव छ । म आज पनि बुबै, आमा, माहिलीआमालाई सम्झन्छु । अहिले पनि ‘साँझका पहेँला घाममा हिँड्न हुन्न’ का बारेमा सोचिरहन्छु । त्यो भनाइ, त्यसको रहस्यबारे मनमा कुरा खेलाइरहन्छु ।

आज मलाई त्यसो भन्ने, हप्काउने त्यो तहको अभिभावक नभएकाले त्यसरी डराउनुपर्ने अवस्था पनि छैन तर त्यो भनाइको, त्यो पहेँलो घामको प्रभाव भने मनमा उस्तै जस्तै छ । अहिले पनि उज्यालो हुनुअघि पूर्वी क्षितिजमा लाली छाउँछ । क्षितिज रङ्गिँदै जान्छ, उज्यालो बढ्न थाल्छ । पश्चिमी क्षितिजको अवस्था पनि उस्तै छ तर म तिनले बनाएका रात र दिनले लखेटिँदै गएर होला धेरै बदलिएँछु । सोच, उत्सुकता र रहरहरू बदलिएछन् । त्यो भनाइको प्रभाव हुँदाहुँदै पनि त्यो रहर र उत्सुकता त्यही मात्रामा छैन ।

मनमा सोचहरू सल्बलाउँछन्– पूर्वमा जस्तै उज्यालो पश्चिममा पनि हुन्छ । दुई दिशाका उज्यालोमा के अन्तर छ ? र एउटालाई हेर्न हुने अर्काेलाई नहुने भनिएको होला ? कि हामी केटाकेटीलाई अल्मल्याएको मात्र होला ? 

एक्लै बसेर गम्न र निष्कर्षमा पुग्न खोज्दाखोज्दै मनमा एकखालको सोच बनाउँदै गएको छु– “एकातिर पूर्वी क्षितिजको उज्यालो बढ्दै जान्छ र दिन आउँछ । अर्कोतिर  पश्चिमी क्षितिजको उज्यालो घट्दै जान्छ र अँध्यारो, कालो रात आउँछ । पूर्वी र पश्चिमी क्षितिजको उज्यालोमा यही अन्तर छ ।  एकातिरको उज्यालो क्रमशः दिनमा रूपान्तरित हुन्छ । अर्कोतिरको उज्यालो क्रमशः रातमा रूपान्तरित हुन्छ । वर्षौदेखि यस्तै भएको छ, यस्तै देखिएको छ । पूर्वी र पश्चिमी क्षितिजको अन्तर यही हो, रहस्य यसमै छ सायद । यो सानो अन्तर पक्कै होइन ।

पूर्वीय दर्शनको ‘तमसोमा ज्योतिर्गमय’ (को रहस्य, ‘साँझका पहेँला घाममा हिँड्नु हुन्न’ आदिको सूत्र, चुरो पनि यही हो कि । यो भनाइले, सूत्रले एकदम नयाँ चेत, नयाँ सोच दिए जस्तो लाग्छ मलाई । यसले अत्यन्त गौरवान्वित पनि बनाउँछ । हाम्रा पूर्वजहरूले सधैँ बिहान सबेरै उठेर पूर्वतिरै हेर्ने, हर शुभकार्यमा पूर्व, उत्तर नै फर्कने गरेको, त्यसलाई एउटा पद्धति बनाएको र ‘तमसोमा ज्योतिर्गमय’ ‘मृत्योर्मा अमृतं गमय...’ ‘ज्योति ज्योति महाज्योति...’ ‘शुभं करोतु कल्याणं आरोग्यं सुखसम्पदा मम शत्रु विनाशाय दीपज्योति नमोस्तु ते’ आदि आदि भन्ने गरेको पनि त्यसै भएर हो कि !

हुन त सूर्याेदयअघिको क्षितिज रातै हुन्छ । सूर्यास्ततिरको पश्चिमी क्षितिज पनि रातै हुन्छ । सुन्दरता दुवैतिर छ । पश्चिमको रातो होस् वा पूर्वको रातो, मनोहरता उस्तै हुन्छ । दुवैतिरको रातो हेर्न रमाइलै लाग्छ । रातोपन नै सुन्दरता हो भने, रातोकै मात्र कुरो हो भने क्षितिजको मनोहरतामा भेद नहुनु, नगरिनुपर्ने हो तर गरिएको छ । यथार्थमा यसको अर्थमा अन्तर पनि छ । मेरो मनमा पनि त्यही रातोपनको असर छ । 

‘म रातो रुचाउन्न’ अथवा ‘रातो रुचाउँछु’ मात्र पनि भन्दिनँ । रातो सुन्दरै हुन्छ, हुनुपर्छ अथवा हर सुन्दर कुरो रातै हुनुपर्छ भन्ने छैन तर चुरो कुरो रातोमा सूर्योदय  हुन्छ, बिहानको सौन्दर्य हुन्छ र अन्धकारको आह्वान र सूत्रपात पनि । दुवैमा उस्तै रातो छ तर म तिनलाई उस्तै मान्न सक्दिनँ ? राता हुँदैमा ती कसरी उस्तै हुन सक्छन् ? उज्यालो र अँध्यारोका आमन्त्रक कसरी उस्तै हुन्छन् ? उज्यालोको र अँध्यारोको आमन्त्रण कसरी उस्तै हुन्छ ?

साँझ–बिहानको रातो क्षितिज, शरीरको रातो रगत देख्दा लाग्छ– रातोमा जीवन हुन्छ, रातोमा सुन्दरताको झलक पाइन्छ । लालुपाते, गुराँस जस्ता फूलहरू रातै हुन्छन्, सिम्रिकको रङ पनि रातै हुन्छ । तिनमा सौन्दर्य पनि हुन्छ ।  

आमाहरू, दिदीबहिनीहरू रातो रङलाई सौभाग्यको प्रतीक मान्छन् । रातो पहिरन मन पराउँछन् । म, रातोमा मातृत्व, भ्रातृत्व,  र बन्धुत्वको स्नेह पाउँछु ... । दिदीबहिनीको, आमाको सीप, कुशलता, स्नेह एवं सौन्दर्य पाउँछु । अनि मैले रातोलाई कसरी नराम्रो ठान्न सक्छु ? ‘रातो राम्रो हुन्न’ भनेर कसरी भन्न सक्छु ? ‘रातो राम्रो गुलियो मीठो’ त्यसै भनिएको होला र ? तैपनि मन भनिरहन्छ– रातो हुनु नै सुन्दरताको परिचायक भने अवश्य पनि हुँदैन । सबै रातोमा सुन्दरता हुन्छ भन्ने छैन र सुन्दर हुन रातै हुनुपर्छ भन्ने पनि छैन । 

उमेरले प्रौढ भइसकेकाले मेरो शरीरको अवस्थामा केही अन्तर आए पनि मभित्रको ‘म’ उस्तै छ । हिजो र आजको ममा त्यत्ति अन्तर छैन । अन्तर छ तर धेरै अन्तर छैन, तैपनि मैले रातोपनमा दुई अवस्था देख्न, अनुभव गर्न थालेको छु । रातो राम्रो मान्दामान्दै, भन्दाभन्दै पनि फरक कुराको आभास पाउन थालेको छु । 

रातो स्नेह र सुन्दरता बुझाउने कुरामा हुन्छ । रातो हत्या, हिंसामा पनि हुन्छ तर यी दुवै रातोमा अवश्य पनि अन्तर छ । शरीरको रातो रगत जसको आवश्यकता जीवनका लागि छ, हुन्छ, त्यसमा सद्भाव, सहयोग, सम्बन्ध र सुन्दरता पनि हुन्छ । त्यही रातोको अर्को असुन्दर रूप पनि छ । जसको हत्या, हिंसासँग सम्बन्ध हुन्छ, त्यो असाध्य असुन्दर र कुरूप हुन्छ । सोच्छु– रातो, कति सुन्दर हुन्छ र कति कुरूप पनि हुन्छ !

जेजे भए पनि रातोपन हाम्रो अस्तित्व हो, हाम्रो जीवन हो, सुन्दरता हो । उदयको आभास हो, सङ्केत हो । उदयको आभास, त्यसको अनुमान मात्र पनि सुन्दर हुन्छ । उदय स्वयं सुखद हुन्छ, आल्हाददायी हुन्छ । 

त्यही रातोपन हत्या, हिंसा र कुरूपता पनि हो । हत्या, आतङ्कको रातोमा सुन्दरता होइन, असुन्दरता हुन्छ । त्यसमा जीवन होइन, जीवनको अवसान देखिन्छ । अवसान कहिल्यै पनि सुन्दर हुन्न, मानिन्न । क्षितिजहरू पूर्वतिर हुन् वा पश्चिमतिर केही क्षण रातो रूपमा, सुन्दर रूपमा देखा पर्छन् । हाम्रा आफ्ना आँखाहरू बिस्तारै त्यतातिर लाग्छन् । हामी कल्पना गर्छौँ, भन्न थाल्छौँ– अहो ! कस्तो रातो क्षितिज ! कति राम्रो आकाश ! 

फेरि सोच्दासोच्दै, हेर्दाहेर्दै हामी यसो पनि भन्न सक्छौँ– के कुनै चिज रातो हुँदैमा राम्रो हुन्छ ? आकाश रातो भएरै राम्रो हुने हो ? यदि त्यसो हो भने नीलो आकाश नि ! आकाश सफा र सुन्दर त नीलो देखिँदा झन् बढी हुन्छ ! रातो आकाश मात्र राम्रो हुन्छ भन्ने छ र ?  त्यसो त रातो आकाश राम्रो हुँदै होइन भन्ने पनि होइन । हो त केवल पूर्वमा रातो देखिने आकाश जसले बिहानीको सङ्केत गर्छ । उज्यालो भविष्यको पूर्वाभास गराउँछ त्यो राम्रो हुन्छ । त्यो सुन्दर हुन्छ । साँझको पश्चिमी आकाश जसले अँध्यारोको, रातको आह्वान गर्छ, त्यो असुन्दर हुन्छ, मानिन्छ । देख्दा त दुवै उस्तै छन् । देखाइमा त रातीगेडी पनि राम्रो हुन्छ तर त्यसको प्रयोग... ? उपयोगिता... ?

व्यवहारमा हेर्दा लाग्छ– राम्रा– नराम्रा त भावनाहरू हुन्, सङ्केतहरू हुन्, परिणामहरू हुन् । भविष्यका पूर्वाधारहरू हेरेर उही कुरालाई हामी राम्रो र नराम्रो मानिराखेका हुन्छौँ, भनिराखेका हुन्छौँ । जसरी चरित्र, सीप, व्यवहार हेरेर हामी व्यक्तिलाई राम्रो– नराम्रो मान्छौँ, भन्छौँ । साँझका समयमा हाम्रा सामु पश्चिमी क्षितिज रातो रूपमा देखापर्छ, बिहानी समयमा पूर्वी क्षितिज रातो रूपमा देखापर्छ । के रातो सुन्दरै हुन्छ भनेर पश्चिमी र पूर्वी क्षितिजको तुलना गर्न सकिन्छ ? तिनले आह्वान गर्ने कुराको तुलना हुन सक्छ ?

पश्चिमी क्षितिजको रातो (पहेँलो) अवसानको सङ्केत हो, भविष्यको अन्धकार अवस्थाको पूर्वरूप हो । त्यो रातो भए पनि अँध्याराको अग्रज हो, आह्वानकर्ता हो । अँध्यारोको सूत्रधार हो । पूर्वी क्षितिजको रातो उज्यालोको आह्वानकर्ता, सूत्रधार हो । 

त्यसैले म पूर्वी क्षितिजमा सुन्दरता भेट्टाउँछु । जीवन, स्नेह, मधुरता, मातृत्व, ममता र वात्सल्य पाउँछु । त्यसको विपरीत पश्चिमी क्षितिजको रातोपनमा यिनकै विपरीतता, विरोधीभाव अन्धकार, कुरूपता, निर्दयता, कठोरता र हेलत्व पाउँछु, देख्छु र त त्यसलाई रातो पनि नभन्न खोज्छु । अनि सधैँ पूर्वतिरको आकाशलाई आशावान् भएर हेरिरहन्छु र बुबैले, आमाले भन्ने गरेको कुराबाट प्रभावित भएर आमासँग बारम्बार भन्ने गरेको ‘‘साँझका पहेँला घाममा हिँड्न हुन्न हैन आमा !” भनाइलाई कहिल्यै नबिर्सने गरी सम्झिरहन्छु, सम्झिरहन्छु । 


पाल्पा, हाल– काठमाडौँ–३२, मनोहरबस्ती