• ५ माघ २०८२, सोमबार

पर्सामा एक सय ६७ मतदानस्थल कायम

blog

वीरगञ्ज (पर्सा), माघ ५ गते । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सामा तोकिएको एक सय ६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । 

जिल्लाभरि भने एक सय ६७ वटा मतदानस्थल छन् । क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पर्सामा निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउँदै आइरहेको दाबी गर्नुभयो ।

‘‘निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढङ्गले अघि बढाउनको लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउँदै आइरहेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘निर्वाचनको तयारीस्वरुप विभिन्न मतदानस्थल तथा मतदान केन्द्रको निरीक्षण र आवश्यक समन्वयको काम पनि भइरहेको छ ।’’ 

पर्सामा एक सय ६७ मतदानस्थलमध्ये ६२ अति संवेदनशील, ८५ वटा संवेदनशील र २० वटा कम संवेदनशीलको सूचीमा राखिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले गत माघ २ गते जिल्लामा चार वटै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना भइसकेको छ । अहिले चार वटै निर्वाचन अधिकृतको कार्यालय पनि सुरक्षाकर्मी खटाएर सुरक्षा प्रबन्धको व्यवस्था मिलाइएको छ। 

जिल्लामा चार सय ४१ मतदान केन्द्र छन् भने दुई अस्थायी मतदान केन्द्र रहेका छन् । यहाँ चार वटा निर्वाचन क्षेत्र रहेका छन् यसमध्ये क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० तथा क्षेत्र नं ३ र ४ एक सय १४ निर्वाचन क्षेत्र छन् ।

पर्सा जिल्लामा कूल मतदाता सङ्ख्या तीन लाख ७६ हजार पाँच सय १३  छन् ।  तीमध्ये एक लाख ६४ हजार चार सय २१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् । रासस