• ५ माघ २०८२, सोमबार

तनहुँका २० बाख्रापालक किसान सम्मानित

blog

अमरराज नहर्की

तनहुँ, माघ ५ गते । ग्रामीण अर्थतन्त्रको आधार बलियो बनाउँदै रोजगारी सिर्जना र आत्मनिर्भर कृषि प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यसहित तनहुँका २० जना बाख्रापालक किसानलाई सम्मान गरिएको छ। पाँचौँ राष्ट्रिय बाख्रा दिवसको अवसरमा जिल्लाका १० वटै स्थानीय तहबाट छनोट गरिएका उत्कृष्ट कृषकलाई सम्मान प्रदान गरिएको हो ।

“व्यावसायिक सफलताको एक आधारः बाख्रामा नश्ल सुधार” भन्ने नाराका साथ बन्दीपुर गाउँपालिका–४ स्थित टुँडिखेलमा आयोजित कार्यक्रममा बाख्रापालनमार्फत उत्पादन, आम्दानी र उद्यमशीलताको उदाहरण प्रस्तुत गरेका किसानलाई सार्वजनिक रूपमा सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मानले बाख्रापालनलाई दिगो, सम्मानजनक र सम्भावनायुक्त पेशाका रूपमा स्थापित गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सम्मानित हुने किसानहरूमा बन्दीपुर गाउँपालिकाबाट रिता चित्रकार र भागीरथी अधिकारी, भानु नगरपालिकाबाट धनबहादुर गुरुङ र आसामाया कुमाल, ऋषिङ्ग गाउँपालिकाबाट नारायण राना र माधव गौतम, म्याग्दे गाउँपालिकाबाट सामेल गुरुङ र दानबहादुर आले हुनुहुन्छ । यस्तै, घिरिङ गाउँपालिकाबाट सिता थापा र किशान श्रेष्ठ, आँबुखैरेनी गाउँपालिकाबाट पूर्णबहादुर मगर र बुद्धिबहादुर गुरुङ, व्यास नगरपालिकाबाट बाबुराम पौडेल र सन्तोष आले हुनुहुन्छ । यसैगरी, शुक्लागण्डकी नगरपालिकाबाट अभिषेक थापा मगर र पाण्डव लामिछाने, भिमाद नगरपालिकाबाट शिवकुमार आले र याममाया क्षेत्री तथा देवघाट गाउँपालिकाबाट मोहनकुमार श्रेष्ठ र गौरिमान आले रहनुभएको छ ।

सम्मानित किसान शिवकुमार आलेले बाख्रापालनले गाउँमै आत्मनिर्भर जीवनको आधार तयार गरेको बताउनुभयो । “प्राविधिक सहयोग, खोप र बजार व्यवस्थापन सुनिश्चित भए बाख्रापालन ग्रामीण रोजगारीको बलियो स्रोत बन्छ,” उहाँले भन्नुभयो, “यस सम्मानले किसानको श्रमको कदर भएको अनुभूति गराएको छ ।”

कार्यक्रममा बोल्ने वक्ताहरूले बाख्रापालनलाई राष्ट्रिय कृषि रणनीतिसँग जोड्दै नश्ल सुधार, रोग नियन्त्रण, बजार पहुँच र संस्थागत सहकार्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभया े। स्थानीय तह, प्राविधिक निकाय र किसानबीचको सहकार्यले बाख्रापालनलाई समृद्ध ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बनाउन सकिने विश्वास व्यक्त गरिएको छ । 

आयोजकका अनुसार दुर्गम क्षेत्रमा निरन्तर परिश्रम गर्दै आएका महिला, आदिवासी जनजाति, वैदेशिक रोजगारीबाट फर्केका युवा तथा सामूहिक उत्पादनमा संलग्न कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान प्रदान गरिएको हो । 

यसले कृषि पेशाप्रतिको सम्मान बढाउँदै उत्पादनमुखी अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ । छनोटका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख रविनसन अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियने । समितिमा वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य, पशु विकास अधिकृत मधुविलास न्यौपाने, नेपाल व्यावसायिक बाख्रा पालन महासङ्घका केन्द्रीय सचिव कुशलचन्द्र अधिकारी र नायव पशु सेवा प्राविधिक सन्दीप ढकाल सदस्य रहनुभएको थियो ।  

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, पशु सेवा विज्ञ केन्द्र, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र नेपाल व्यावसायिक बाख्रा पालन सङ्घको सयुक्त आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो।