• ५ माघ २०८२, सोमबार

रेसुङ्गामा लालपुर्जा वितरण

blog

रेसुङ्गा नगरपालिकामा प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिदैं। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, माघ ५ गते । गुल्मीको रेसुङ्गा नगरपालिकामा अव्यवस्थित रुपमा बसोवासी गर्दै आउनुभएकाले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्नुभएको छ । पहिलो चरणमा यस नगरपालिका भित्रका १६ जनाले लालपुर्जा प्राप्त गर्नुभएको हो । यहाँ ३०८ जना अव्यवस्थित बसोबासीहरु रहेका छन् ।

दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा पहिला छत्रकोट गाउँपालिकाबाट लालपुर्जा वितरणको कार्य शुभारम्भ गरिएको थियो । यहाँ छत्रकोट गाउँपालिकाको कार्यालय र १७ स्थानीय गरी पहिलो चरणमा १८ वटा लालपुर्जा वितरण गएिको हो। भूमि समस्या समाधान आयोगको पुस ९ गतेको पत्रानुसार यस जिल्ला समितिले आयोगको काम कारबाहीलाई तीव्र रुपमा अघि बढाएको छ।

पहिलो चरणमा रुरुक्षेत्र गाउँपालिकामा १५ जना र मदाने गाउँपालिकामा २६ जनालाई लालपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष कृष्ण सुनारले जानकारी दिनुभयो। अझै ठूलो संख्यामा लालपुर्जा वितरणका लागि प्रयास जारी रहेको भन्दै उहाँले थोरै भए पनि ठोस परिणाम दिन सकिएको बताउनुभयो ।

रेसुङ्गा नगरपालिकामा पहिलो चरणको लालपुर्जा वितरणका क्रममा लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दिनेश पन्थीले २०४६ सालपछि विभिन्न सरकारहरुले भूमि समस्या समाधानका प्रयास गरे पनि सरकार परिवर्तन र निरन्तरताको अभावका कारण दीर्घकालीन समाधान हुन नसकेको बताउनभयो। पछिल्लो पटक मुख्य गरी कांग्रेस-एमालेको गठबन्धनबाट बनेको तत्कालिन सरकारले भूमि समस्या बारे समीक्षा र संशोधन गर्दै समस्या समाधानतर्फ अघि बढेको बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जग्गाको स्वामित्वले नागरिकमा अपनत्व र सुरक्षाको भावना बढाउने बताउनुभयो । कानुनी मान्यतासहित जग्गाको स्वामित्व प्राप्त गराउन निरन्तर समन्वयमा काम भइरहेको उहाँले बताउनुभयो।