प्रतीक इच्छुक शर्मा
सल्यान, माघ ५ गते । बाँके राष्ट्रिय निकुञ्जबाट बारम्बर प्रवेश गर्ने पाटे बाघलगायत हिंस्रक वन्यजन्तुका कारण सल्यानको कालीमाटी गाउँपालिका–६ र ७ का बस्ती दीर्घकालीन जोखिममा परेका छन्।
पछिल्लो एक साताभित्र बाघको आक्रमणबाट तीन जनाको ज्यान गएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । समस्या समाधानका लागि स्थानीयले सङ्घर्ष समिति गठन गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन् । उनीहरुले सल्यान कालिमाटीस्थित बाँके राष्ट्रिय निकुञ्ज घुइयाबारी रेन्ज पोस्ट नारावाजीसहित हिंस्रक वाघलाई नियन्त्रण लिन आग्रह गरेका छन् ।
वन्यजन्तुको निरन्तर आक्रमणले मानवीय ज्यान जोखिममा पर्ने, पशुचौपायामा क्षति हुने र दैनिक जीवन असुरक्षित बन्दै गएको स्थानीयको गुनासो छ । स्थानीय महेन्द्र विकले खेतबारी जान, दाउरा–घाँस गर्न तथा सामान्य आवतजावत गर्नसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, "मान्छे र पशुचौपायमा वाघले आक्रमण गरिहेको छ ।"
कालीमाटी गाउँपालिका–७ का वडा अध्यक्ष मित्रलाल सुनारले अनुसार जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु सङ्घर्ष समितिको प्रमुख माग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "वडाभित्र करिब ५५० घरपरिवार प्रत्यक्ष जोखिममा छन् । स्थानान्तरण सम्भव नभए बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र स्थानीय तहको मातहतमा दिनुपर्छ भन्ने हाम्रो माग छ ।"
स्थानीयले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्तिदमार–घुइयाबारी मध्यवर्ती क्षेत्र हालको स्वरूपमै कायम रहँदा समस्या झन् जटिल बनेको बताएका छन् । करिब ३०० वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने वा सम्पूर्ण व्यवस्थापन अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने माग अघि सारिएको छ । पछिल्ला घटनाले स्थानीय आक्रोश थप चर्किएको छ । पुस २३ गते सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरुवानीकी ५७ वर्षीया गंगादेवी सारु मगर, पुस २५ गते कालीमाटी–७ की ४२ वर्षीया धनसरी रावत र पुस २९ गते कालीमाटी–६ हात्तिढुंगाका ६६ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट ज्यान गएको थियो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईका अनुसार विगतका वर्षहरूमा पनि मानवीय तथा पशुचौपायाको क्षति हुँदै आए पनि दीर्घकालीन समाधान हुन नसकेको बताउनुभयो । स्थानीय ललित सिँजालीले क्षतिपूर्ति प्रक्रिया जटिल र ढिलो हुने गरेको भन्दै स्थानीय असन्तुष्ट रहेको वताउनुभयो । उहाले भन्नुभयो, “संरक्षणभन्दा पहिला मानव जीवन सुरक्षित हुनुपर्छ ।"
समस्या समाधानका लागि भरत पुनको संयोजकत्वमा १३ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको छ । समितिले बस्ती स्थानान्तरण, मध्यवर्ती क्षेत्र पुनरावलोकन, प्रभावकारी नियन्त्रण उपाय तथा आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिने वा आवश्यक परे मार्न पाउनुपर्ने माग अघि सारेको छ ।
डिभिजन वन कार्यालय सल्यानले वाघ मार्न आदेश दिएको भएपनि अहिलेसम्म वाघ फेला परेको छ । बाँके राष्टिय निकुञ्ज र नेपाल प्रहरी परिचालन भएपनि अहिले वाघ फेला नपरेको बताइएको छ । डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन अधिकृत टेकबहादुर रावलले बाघको आतङ्क नियन्त्रणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र वन्यजन्तु संरक्षण नियमावली, २०३० अनुसार सिफारिस समितिले उक्त पाटे बाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गरिएको उहाँले बताउनुभयो । सो आदेश कार्यान्वयनका लागि बाँके राष्ट्रिय निकुञ्जलाई विशेषज्ञ टोली परिचालित भएको छ ।
मागहरू सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिँदै सङ्घर्ष समितिले निकुञ्ज प्रशासन तथा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । यसैबिच कालिमाटी गाउँपालिका ७ का अध्यक्ष मित्रलाल सुनार सहितका स्थानीयले स्थानीयको सुरक्षा लगायतका विभिन्न मागहरु समेटेको ज्ञापन पत्र बाँके राष्ट्रिय निकुञ्ज ओभरी बाँकेमा पेश गर्नु भएको छ ।