राधा लुइटेल
फिदिम, माघ ५ गते । कोही पात टिप्ने, कोही मुठा पार्ने, कोही बाँसका कप्टेरा चिरेर सिन्का बनाउने त कोही लाफा गाँस्ने अनि कोही चाहिँ ओइलाएका पात मिलाएर मेसिनमा पेल्दै टपरी निकाल्ने । फिदिम–४ को पात्ले सामुदायिक वन उपभोक्ता समूह आबद्ध आमा, दिदीबहिनीको दिनचर्या हो यो ।
यहाँ तयार पारिएका दुनाटपरीको माग बढ्न थालेपछि यहाँका महिलाको व्यस्तता बढेको छ । महिला मात्रै आबद्व रहेको पात्ले सामुदायिक वन उपभोक्ता समूहलाई सामुदायिक वन उपभोक्ता महासङ्घले दुनाटपरी बनाउने मेसिन उपलब्ध गराएको छ । वन उद्यम प्रवर्धनसँगै समूह सदस्यको आयआर्जन बढाउन उद्देश्यले यो मेसिन उपलब्ध गराइएको महासङ्घका कोशी प्रदेश सचिव देवीप्रसाद न्यौपानेले बताउनुभयो । मेसिन उपलब्ध भएसँगै महिलामा आत्मनिर्भर बन्ने जोसजाँगर बढेको उपभोक्ता समिति अध्यक्ष सानुमाया थापा मगरले बताउनुभयो ।
“पहिले एक हातमा पात अर्को हातमा सिन्का लिएर दुनाटपरी तयार गथ्र्यौं, मेसिन भित्रिएपछि त्यो झन्झटबाट मुक्त भएका छौँ । अब दुई/चार जना आमा, दिदीबहिनिलाई अझै प्रशिक्षित गरेर थप व्यावसायिक बनाउनु छ,” अध्यक्ष थापाले भन्नुभयो ।
परम्परागत विधिबाट टपरी गाँस्न एक जनाले दिनभर खट्दा ५०–६० वटा मात्रै टपरी गाँस्न सक्नेमा मेसिनबाट २० मिनेटमै ५० भन्दा धेरै तयार गर्न सकिने भएकाले समय र सामग्री दुवैको बचत हुने सहभागीको प्रतिव्रिmया छ ।
“पहिले सिन्काले गाँसेरै काम चलाइन्थ्यो, आजकल पातका चारकुना मिलाएर लाफा बनाइसक्दा नसक्दै मेसिनमा हालेपछि चिटिक्क परेका टपरी तयार हुन थालेका छन् । यसरी तयार पारिएका टपरी आकर्षक देखिने भएकाले सहजै बिव्रmी गर्न सकिने रहेछ,” टपरी गाँसिरहेको समूहमा भेटिनुभएकी खिना कोइरालाले भन्नुभयो ।
उहाँका अनुसार पछिल्लो पटक नेपाल मगर सङ्घले आयोजना गर्ने रैथाने खाना महोत्सवका लागि मात्रै दुई हजार पाँच सय टपरीको माग आएको छ । समूह अहिले त्यही माग पूरा गर्ने ध्याउन्नमा छ ।
यहाँका महिलाले तयार पारेका दुनाटपरी जिल्लामा आयोजना हुने उत्सव महोत्सव र बिहे कार्जेमा खपत हुन्छन् । मेसिनबाट टपरी बनाउँदा समय श्रमको बचत हुने गरेको अर्की सहभागी इन्द्रमाया बाँस्कोटाले बताउनुभयो ।
बजारमा प्लास्टिकबाट तयार पारिएका उपयोग गरेर मिल्काइने प्लेट आएपछि भोजभतेरमा दुनाटपरीको प्रयोग घट्दो थियो । “दुनाटपरी प्रयोगमा आउन थालेसँगै पाका पुस्तासँग भएको सिप नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने माध्यम हराउने अवस्थामा यहाँका महिलाले सुरु गरेको यो वन उद्यम प्रवर्धन र आयआर्जनका लागि दुनाटपरी गाँस्ने अभियान प्रशंसायोग्य छ,” फिदिम ४ का वडाध्यक्ष उपेन्द्र लावतीले भन्नुभयो ।