शंकर केसी
सल्यान, माघ ४ गते । सल्यान कालिमाटीदेखि सदरमुकाम खलङ्गा जोड्ने सडकको सुकिदह क्षेत्रमा सुख्खा पहिरो झरेकाले सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध भएको छ । कालिमाटी गाउँपालिका –३ अन्तर्गत पर्ने सुकिदह क्षेत्रमा गएराति ठुलो सुख्खा पहिरो खस्दा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
पहिरोका कारण कालिमाटीदेखि जुकेना जोड्ने सडक बन्द भएको वडा कार्यालयका अधिकारीले बताउनुभयो । वडा अध्यक्ष शिवबहादुर खत्रीका अनुसार सुख्खा पहिरोले मुख्य सडक नै बन्द गरेको छ । करिव ३० मिटरमाथिबाट चट्टानसहितको डाँडो नै खसेको भन्दै उहाँले ५० मिटर क्षेत्रको सडक पहिरोले पुरिएको जानकारी दिनुभयो ।
पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग सम्पर्क तथा समन्वय भइरहेको छ । केही दिनभित्र सडक डिभिजन कार्यालय घोराहीबाट इन्जिनियरको टोली आउने जानकारी प्राप्त भएको वडा अध्यक्ष खत्रीले जनाउनुभयो ।
उहाँले पहिरो हटाउनेक्रममा मासखोलाको तुसारे बस्ती आसपास जोखिम हुन सक्ने भएकाले त्यहाँ बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित रूपमा बस्न आग्रह गर्नुभएको छ । पहिरो पूर्ण रूपमा नहटेसम्म यात्रु तथा सवारी साधनलाई लक्ष्मीपुरको वैकल्पिक बाटो प्रयोग गरी खलङ्गा आवत–जावत गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।