अर्जुन काफ्ले
स्याङ्जा, माघ ४ गते । प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा वालिङ नगरपालिका सेमिफाइनमा प्रवेश गरेको छ ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको आइतबारको खेलमा दोस्रो खेल वालिङ नगरपालिकाले फेदीखोलालाई नौ विकेटले पराजित गर्दै समुह विजेता बनेको हो ।
समुह बीबाट लगातार दुई जित गरेसँगै समुह विजेता बन्दै सेमिफाइनमा प्रवेश गरेको हो । पहिलो खेलमा वालिङले कालीगण्डकीलाई २२ रनले पराजित गरेको थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको फेदी खोलाले १८ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनाएको थियो । फेदी खोलाका लागि सार्दुल भट्ट्ले २२, ट्राभीस जैसीले १८ र सिजन पौडेलले १४ रन बनाएपनि अन्यले दोहोरो अङ्क बनाउन नसकेका हुन् ।
फेदी खोलालाई सस्तैमा आउट गर्नका लागि वालिङका अङ्कित न्यौपाने र सुजन गौतमले चार चार विकेट र मिलन लुइटेलले दुई विकेट लिनु भएको थियो । ८२ रनको लक्ष्य पाएको वालिङले १०.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेटाउँदै सेमिफाइनको यात्रा तय गरेको थियो । वालिङमको जितका लागि सुजन गाैतमले अविजित ५१ र रोशन गौतमले ११ रन बनाउनु भएको थियो भने मनिस तिवारी ६.२ ओभरमा चार रनमा रन आउट हुनु भएको थियाे ।
यसअघिको पहिलो खेलमा गल्याङ नगरपालिकाले भीरकोट नगरपालिकालाई १२ रनले पराजित गरेको थियो । आफ्नो पहिलो खेलमा टस जितेर राष्ट्रिय स्तरका खेलाडी संदीप क्षेत्री र दीपक डुम्रेलाई लिएर पहिला मैदानमा उत्रेको गल्याङले निर्धारित ओभरमा आठ विकेटको क्षेतिमा १०४ रन बनाउको थियो । संदीपले पाँच र दिपक तीन रनमा आउट भए पनि राजेश बस्यालले २५ र अभिशेक भट्टराईले खेललाई समालेका थिए ।
१०५ रनको लक्ष्य पाएको भीरकोट १९ ओभरमा ९२ रनमा आउट हुँदै दुबै खेलमा हार्दै खेलमा समुहबाटै बाहिरिएको थियो । भीरकोट पहिलो खेलमा आँधी खोलासँग पाँच रनले हारेको थियो ।
१४ गते सम्म चल्ने प्रतियोगता पहिलो चरणका खेल आइबारबाट सकिएका छन् भने दोस्रो चरण माघ ९ गतेबाट सुरु हुने छ ।
प्रतियोगितामा विजेताले दुई लाख सहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छ ।