तनहुँ सदरमुकाम दमौलीबाट छ कि.मि. पूर्वमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ हो आँपस्वारा । १३० घरधुरी रहेको उक्त गाउँमा गुरुङ, मगर, बाहुन, क्षेत्रीको मिश्रित बसोवास भए पनि दलितको बाहुल्यता छ । विशेष कुरा, २०७२ देखि आँपस्वारामा देशकै पहिलो दलित होमस्टे ‘आँपस्वारा सामुदायिक दलित होमस्टे’ सञ्चालन भइरहेको छ । पर्यटनका माध्यमबाट आर्थिक विकास र छुवाछूत अन्त्य गर्न सामुदायिक होमस्टे सञ्चालन गरिएको सञ्चालक बताउँछन् । छुवाछूत न्यूनीकरणमा सकारात्मक सन्देश दिने उद्देश्यले कन्सेप्ट नेपालको आयोजनामा तीन दिने ‘आँपस्वारा काव्ययात्रा २०७९’ हालै सम्पन्न भएको थियो ।
जसअन्तर्गत २५ जना कवि, लेखक, पत्रकार, साहित्यकारको टोलीले दलित होमस्टेमा बसी सञ्चालक तथा अगुवासँग अन्तक्र्रिया गर्ने अवसर पाए । समाजमा कायम जातीय विभेदको असङ्गत परिपाटीलाई चिर्न दलित समुदाय सङ्घर्षरत रहेको विगतदेखि उनीहरूका क्रियाकलाप र हस्तक्षेपका घटनाले प्रष्ट पारेका थिए जसमा ऐक्यबद्धता जनाउन र देशैभरि जातीय विभेदविरुद्धमा सन्देश प्रवाह गर्न पत्रकार र लेखक आँपस्वारा पुगेका थिए ।
हाल दलित समुदायका १८ वटा घरमा दुई वटाको दरले ३६ बेड होमस्टेका लागि व्यवस्था गरिएका छन् । जहाँ स्वदेशी विदेशी पर्यटक पुगेर स्वच्छ प्राकृतिक वातावरणमा रमाउँछन् साथै समाजशास्त्रका विभिन्न आयामबाट त्यस ठाउँको चिरफार गर्ने एउटा उपयुक्त स्थल बनेको छ आँपस्वारा । काव्ययात्राको दौरान नेपालका लेखक, साहित्यकारले पनि दलित समुदायसँग पारिवारिक रूपमा एकाकार भएर भावनात्मक एकताको अभिवृद्धि गरे, एक आपसका धेरै जानकारी साटासाट गरे । होमस्टे संस्कृतिले दलित समुदायलाई धेरै किसिमबाट व्यवस्थित बनाउँदै लगेको प्रष्ट झल्को पाइन्छ त्यहाँ पुग्दा । विदेशीलगायत स्वदेशकै अन्य भेगका मानिससँगको अन्तक्र्रियाले दलित समुदायको चेतना स्तर पनि समुन्नत हुँदै गएको छ ।
विभिन्न सीपमूलक काम, कृषिकार्य तथा होमस्टे सञ्चालनबाट जीवन तुलनात्मक रूपले सहज बन्दै गएको उनीहरू बताउँछन् । आफ्नो घर र परिवेश सफासुग्घर राख्ने बानी परिसकेको छ । विगतमा कथित मािथल्लो जातकाले लगाउने प्रतिबन्ध र बहिस्करणबाट पनि अहिले उनीहरू धेरै माथि उठिसकेको अवस्था छ । आफ्नो सङ्घर्षले सफलता पाउँदै आएका कारण दलित समुदाय उत्तिकै उत्साहित र विगतका सङ्घर्षमा गर्व पनि गर्दछन् । आँपस्वाराको यो सकारात्मक कदमको सिको अन्य क्षेत्रका दलित समुदायले पनि गर्न सकेमा समग्र देशकै दलित आन्दोलनले उल्लेखनीय फड्को मार्ने थियो ।
धेरै पक्षमा चेतनशील हुँदै गएको आपँस्वाराको दलित समुदायले सुधार गर्नुपर्ने कुरा पनि धेरै छन् तीमध्ये आफ्नै स्वास्थ्यको सवाललाई परवाह नगरेको अवस्था सबैभन्दा प्रमुख हो । भ्रमणका दौरान देखिएका केही घटनाले स्वास्थ्य सवालमा सजग हुनैपर्ने अवस्थालाई प्रष्ट पार्छ । व्यास नपा–१३ आपस्वाँराका श्याम सुनारको परिवारलाई हालै ठूलो बज्रपात प-यो । उहाँकी बुहारी मञ्जु सुनार ३० वर्षकै उमेरमा परलोक हुनुभयो । सुगरका कारण दुवै किड्नीले काम नगरेपछि सन्तान र परिवारलाई छोडेर मञ्जुले अल्पायुमै संसार छोड्नुप-यो । श्यामकी पत्नी बुद्धि सुनारलाई पनि सुगर रोग छ ।
बुद्धिको रगतमा चिनीको मात्रा अत्यधिक बढेको सुनार परिवारले तब मात्र भेउ पायो, जब उनका गोडाका औँला घाउले क्षतविक्षत् भएर कुहियो । घाउ बढेर गोडामै ठूलो प्वाल परेपछि उहाँलाई अस्पताल लगियो । डाक्टरले अपरेसन गरेर घाउ सबै सफा गरे । खाने, लाउने औषधि दिए । त्यसपछि अलि सञ्चो भएर उहाँ अस्पतालबाट घर फर्किनुभयो । ‘श्रीमतीको बाहिरी घाउ भएकाले उपचार गरेर ठीक भयो तर बुहारीको दुवै किड्नी फेल भइसकेकाले हामीले उनलाई सुगर रोगबाट बचाउन सकेनौँ’ भावविह्वल हुँदै श्याम सुनारले आफ्नो वेदना सुनाउनुभयो ।
पङ्क्तिकार बसेको होमस्टेका सञ्चालक चेतबहादुर विश्वकर्मा उमेरले ५३ वर्ष मात्र पुग्नुभएको छ । उमेरभन्दा धेरै परिपक्व देखिनुहुन्छ । उच्च रक्तचापको औषधि सुरुमै नलिएका कारण उहाँ विगत नौ वर्षदेखि पक्षघातबाट पीडित हुनुभयो । जसका कारण केही काम गर्न सक्दैनन्, अलिअलि हिँडडुल पनि कष्टपूर्वक गर्नुहुन्छ । पक्षघातका कारण बोलीसमेत लरबरिएर बुझ्न नसक्ने भएको छ । उहाँ सुगर रोगले समेत पीडित व्यक्ति हो । रोग थाहा पाएको केही समयसम्म डाक्टरको सल्लाहबमोजिम सुगरको नियमित औषधि खाए तर अलि पछि भएपछि पैसा नभएको भन्दै औषधि खान आफैँ छोड्नुभयो ।
त्यसपछि उहाँले आफ्नो रगतमा सुगरको मात्रा कति छ भन्ने परीक्षण गराउनुभएको छैन । नडाक्टरकोमा जानुभएको छ न त खानपानमा नै कटौती र परहेज छ । शारीरिक सक्रियता नभएकाले कार्बोहाइड्रेटको परिमाण घटाउनै पर्छ, तर त्यहाँ अवस्था उल्टो देखिन्थ्यो । आजको भोलि नै त्यसको असर थाहा नहुने हँुदा नै रोग प्रभावित खानपानमा उस्तो ध्यान दिँदैनन्, जब असर बाहिर आउँछ वा अङ्गप्रत्याङ्गमै असर पुग्छ त्यसपछि पूर्ववत् अवस्थामा फर्कन गारो भइदिन्छ । माथि उल्लिखित यी दुई घरको मात्रै अवस्था त यति भयावह छ भने समग्र गाउँकै अवस्था विश्लेषण गर्ने हो भने नसर्ने दीर्घरोगबाट मानिस कसरी प्रभावित भइरहेका छन् ?
बजारिया प्याकेट फुडले अहिले गाउँ पनि उत्तिकै प्रभावित देखिन्छ । होमस्टेको तीन दिने बसाइँमा हरियो तरकारीसमेत किनेरै ल्याएको देखियो, जबकी त्यहाँको माटो तथा हावापानी त्यस्ता उत्पादनका लागि अति नै अनुकूल छ । हरिया सागपातको ठाउँ मासुले लिएको देखियो । मासुजन्य पदार्थमा पनि स्थानीय उत्पादनको सट्टा ब्रोइलरकै दबदबा कायम छ । पाहुनालाई मिठो खुवाउने नाममा हो या आदत नै भइसकेर हो तेल र मरमसलाको अत्यधिक प्रयोगमा स्थानीय अभ्यस्त भएका देखिन्छन् । गहुँको खस्रो पीठोको ठाउँ मैदाले लिएको देखियो ।
बेलुका हल्का खानपान सबैका लागि उपयुक्त हुने कुरा स्वास्थ्यकर्मीले बताउँदै आएको कुरा हो तर अबेर राति मासु र मदिरासहितको गरिष्ठ खानपानपछि सुतिहाल्ने बानीले स्वास्थ्य अवस्थालाई झन् कमजोर बनाउन भूमिका खेलेको छ । यस्ता बानी दीर्घरोगीका लागि अझ बढी हानिकारक हुने नै भए । दलित समुदायको स्वास्थ्य समस्या आँपस्वारामा मात्र देखिएको समस्या होइन, केही दिनअघि तराईका दलित बस्तीमा देखिएको पक्षघातको समस्या सञ्चारमै आएको विषय हो । अध्ययन गरिएका सर्लाही, सिराहा र मोरङका ५९ दलित बस्तीमा एक सय नौ पक्षघातका बिरामी भेटिएको समाचारमा उल्लेख थियो ।
हरेक नागरिकका लागि स्वास्थ्यको अधिकार संविधानमै लेखिएको मौलिक हक हो । सामान्य जनचेतनाको अभावले पनि तल्लो तहका जनता मर्न विवश छन् । जनताले सबैखाले आधारभूत अधिकार आफ्नो घरआँगनबाटै पाउन भन्ने उद्देश्यले तीन तहको सरकारसहितको राज्यसंरचना बनेको हो । जनताका शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अत्यावश्यक विषयको परिपूर्ति स्थानीय सरकारको प्राथमिक अभिभारा हो । पालिकाहरूको प्रयत्न र समन्वयमा स्थानीय स्तरका स्वास्थ्य संस्था बढीभन्दा बढी चलायमान र जनताप्रति उत्तरदायी हुनु जरुरी छ ।
सुगर प्रेसरलगायतका दीर्घरोग लागेका व्यक्तिले अपनाउनुपर्ने स्वास्थ्य सतर्कता, खानुपर्ने औषधि, खानपानमा गर्नुपर्ने परहेज, शारीरिक सक्रियताको जरुरत तथा यसको अभावमा हुने जटिलता राम्रोसँग बुझाउने हो भने समस्या विकराल बन्ने छैन । यसका साथै देशैभरि स्थानीय तहबाट विपन्न वर्गका लागि उपचारमा हुने सहुलियत, निःशुल्क उपचार तथा औषधि वितरणसहित गम्भीर बिरामीको अवस्थामा माथिल्ला स्वास्थ्य निकायमा पठाउने जिम्मेवारी राम्रोसँग स्वास्थ्य संस्थाले निर्वाह गरेका छन् छैनन् भन्ने बारेमा सम्बन्धित पालिकाले नै कडाइका साथ जवाफदेहिता लिनुपर्ने जरुरी छ ।