इस्लामाबाद, माघ ३ गते । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने अन्य व्यक्ति घाइते भएका छन् ।
उद्धार अधिकारीका अनुसार अत्यन्त कम दृश्यताका कारण मिनी-ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो । दुर्घटना स्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेलाई तत्काल नजिकका अस्पताल लगिएको थियो । उपचारका क्रममा थप सात जनाको मृत्यु भएपछि मृतक सङ्ख्या १४ पुगेको जनाइएको छ ।
कुहिरोका कारण मोटरवे बन्द भएपछि चालकले वैकल्पिक स्थानीय मार्ग प्रयोग गरेको बताइएको छ । सूचना प्राप्त हुना साथ रेस्क्यु टोली घटना स्थलमा पुगेर उद्धार तथा राहत कार्य सञ्चालन गरेका थिए । दुर्घटनामा महिला र बालबालिकासमेत परेको पुष्टि भएको छ । मृतक तथा घाइते सबै इस्लामाबादका बासिन्दा रहेको उद्धार अधिकारीले बताएका छन् । रासस/सिन्ह्वा