• ३ माघ २०८२, शनिबार

चीनद्वारा कृषि आधुनिकीकरण तीव्र बनाउन नयाँ कार्ययोजना सार्वजनिक

blog

बेइजिङ, माघ ३ गते । चीनले आगामी पाँच वर्षमा कृषि आधुनिकीकरणलाई तीव्र गतिमा अघि बढाउन विशेष नमूना क्षेत्र स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । यी क्षेत्रमा सुधार र प्रविधि नवप्रवर्तनमार्फत उत्पादन क्षमता, गुणस्तर र कृषि कार्यक्षमता वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

कृषि तथा ग्रामीण मामिला मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय विकास तथा सुधार आयोगले हालै सार्वजनिक गरेको कार्ययोजना अनुसार सन् २०३० सम्म देश भर ५०० सम्म यस्ता नमूना क्षेत्र स्थापना र प्रमाणित गर्ने लक्ष्य राखिएको छ । कार्य योजनामा अन्न उद्योग, पशुपालन, विशेष कृषि उद्योग, स्मार्ट कृषि, शहरी कृषि र शुष्क भूमि कृषि गरी छ प्रमुख क्षेत्र समेटिएका छन् ।

योजना अनुसार यी क्षेत्रले कृषि आधुनिकीकरणलाई तीव्र गति दिन, प्रविधि र हरित कृषि प्रवद्र्धन गर्न, गुणस्तर सुधार र ब्रान्ड निर्माणमा सहयोग पुर्‍याउने महत्त्व पूर्ण भूमिका खेल्ने छन् । कार्ययोजनाले राष्ट्रिय खाद्य सुरक्षा सुनिश्चित गर्ने, प्रमुख कृषि उत्पादनको प्रभावकारी आपूर्ति सुनिश्चित गर्ने, नयाँ गुणस्तरीय उत्पादन शक्ति विकास गर्ने र आधुनिक कृषिको औद्योगिक तथा सञ्चालन प्रणाली सुधार गर्ने उद्देश्य राखेको छ ।

यी नमूना क्षेत्रमार्फत दोहोर्याउन योग्य र विस्तार योग्य विकास मोडेल निर्माण गरिने छ, जसले चीनमा कृषि आधुनिकीकरणलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यस कार्ययोजना घोषणापछि गत महिना बेइजिङमा सम्पन्न केन्द्रीय वार्षिक ग्रामीण कार्य सम्मेलनले ग्रामीण पुनरुत्थानलाई व्यवस्थित रूपमा अघि बढाउन र सहरी-ग्रामीण समेकित विकासलाई प्रवर्धन गर्न जोड दिएको थियो । रासस/सिन्ह्वा