• ३ माघ २०८२, शनिबार

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार मानिस अस्पताल भर्ना

blog

लस एन्जलस, अमेरिका, माघ ३ गते । अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस इन्फ्लुएन्जा (फ्लु) बाट सङ्क्रमित भएका छन् । यस अवधिमा करिब दुई लाख ३० हजार बिरामी अस्पताल भर्ना भएका छन् भने ९ हजार ३ सय जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो अनुमानमा उल्लेख गरिएको छ ।

सिडिसीका अनुसार अमेरिकाभर मौसमी फ्लुको गतिविधि अझै उच्च अवस्थामा नै रहेको छ, तर पछिल्ला दुई सातादेखि सङ्क्रमण दर घट्दो वा स्थिर रहेको देखिएको छ । यस सिजनमा इन्फ्लुएन्जा ए (एच३एन२) भाइरस सबैभन्दा बढी फैलिएको प्रकारको रूपमा पुष्टि भएको छ ।

जनवरी १० मा समाप्त भएको सातासम्म फ्लुसँग सम्बन्धित १५ बालबालिकाको मृत्यु भएको सिडिसीले जनाएको छ । यससँगै यस सिजनमा फ्लुका कारण ज्यान गुमाउने बालबालिकाको सङ्ख्या ३२ पुगेको छ । सिडिसीका अनुसार तीमध्ये करिब ९० प्रतिशत बालबालिका फ्लु विरुद्ध पूर्णरूपमा खोप नलगाएका थिए ।

सिडिसीले अमेरिकामा फ्लु प्रायः शरद र जाडो याममा देखिने र यसको चरम अवस्था प्रायः डिसेम्बरदेखि फेब्रुअरी महिनासम्म रहने जानकारी दिएको छ । हालको अवस्थालाई ध्यानमा राख्दै सिडिसीले ६ महिनाभन्दा माथिका सबै व्यक्तिलाई, यदि यस सिजनको फ्लु खोप नलगाएका भए, सकेसम्म छिटो खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य अधिकारीले समयमै खोप लगाउने, सरसफाइमा ध्यान दिने र लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु नै फ्लुबाट जोगिने प्रभावकारी उपाय भएको बताएका छन् । रासस/सिन्ह्वा